आइतबार, जेठ ६, २०८१

पोखरा स्पोर्टस् अवार्ड : मर्सानीलाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

नेपालखोज २०८० वैशाख १७ गते २०:४२

कास्की । सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गतको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सो अवार्ड प्रदान गरिने जनाएको छ ।

अवार्डका लागि गठन गरिएको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएर खेलकुदमा योगदान गर्नुभएका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो । पोखरा स्पोर्टस् अवार्ड यही वैशाख २३ गते हुँदैछ । सोही समारोमा उनलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।

नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने अग्रज व्यक्तित्वलाई सो अवार्ड प्रदान गर्ने गरिएको छ । मर्सानीले गण्डकी प्रदेश र नेपालकै बक्सिङ खेललाई माथि पुर्याउन तथा खेलको विकास र विस्तार गर्न योगदान गरेका छन् । यसअघि अग्रज खेलकुदकर्मी कृष्ण थापा, खड्कबहादुर रानाभाट, डा. वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेशबहादुर भट्टराईले यो विधाअन्र्तगको पुरस्कार पाएका छन्।

मर्सानीले पहिलो पटक विसं २०३७ मा बक्सिङ प्रतियोगितामा लिएका थिए। भैरहवामा भएको बक्सिङकै पहिलो राष्ट्रिय प्रतियोगितामा उहाँ गण्डकी अञ्चलबाट छनोट भएका थिए। उनले पहिलो सहभागितामै कास्य पदक जिते । विसं २०३८ मा काठमाडौँमा वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाए ।

यसैगरी वीरगञ्जमा भएको सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्य र विसं २०४१ मा नवौं बक्सिङ प्रतियोगितामा भने स्वर्ण पदक हात पारे । उनले भारतमा अध्ययन गरेर फर्किसकेपछि पूर्ण प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय बक्सिङ टीमको नेतृत्व गरे । बक्सिङ खेलको प्रशिक्षकको रुपमा ३५ वर्ष जागिर जीवन व्यतित गरेर उनी विसं २०७७ असारमा अनिवार्य अवकास पाएका थिए ।

वैशाख २३ गते हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्थावा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष बरालले बताए ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् । यसैगरी वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन् । -rss

प्रतिक्रिया