शुक्रबार, वैशाख १४, २०८१

पत्रकार महासङ्घको अक्षयकोषका  लागि १ करोड २५ लाख दिने मुख्यमन्त्रीको प्रतिबद्धता

नेपालखोज २०८० वैशाख २१ गते ९:१०

रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले नेपाल पत्रकार महासङ्घ प्रदेश कमिटीको अक्षयकोष स्थापनाको लागि १ करोड २५ लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधवार नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले रौतहटको चन्दरनिगाहपुरमा आयोजना गरेको मधेस प्रदेश सञ्चार सम्मेलनका प्रमुख अतिथि मुख्यमन्त्री यादवले प्रतिबद्धता जनाएका हुन्।

पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम लगायतको व्यवस्थापनको लागि मधेस सरकार सदैव तयार रहेको उनले बताए।उनले आफ्नो कार्यकालमा प्रदेशको विकास र भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकतामा रहने बताए ।

पाँच वर्षको कार्यकालमा प्रदेशको प्रत्येक जिल्लामा एउटा एउटा मेडिकल कलेजको स्थापना गर्ने बताउँदै मुख्यमन्त्री सरोज यादवले यस आर्थिक वर्षमा कम्तीमा ४ जिल्ला अस्पताल लाई १०० बेडको रूपमा स्तरोन्नति गरेर कम्तीमा अहेब, हेल्थ असिस्टेन्ट,र नर्सिङको पढाई सुरु गराउने विश्वास दिलाएका थिए।

कार्यक्रममा मुख्यमन्त्री यादवको साथै विशिष्ट अतिथि तारानाथ दाहाल, प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमलसिना, प्रदेश सांसद समीर भट्टराई लगायतका वक्ताहरूले प्रेस स्वतन्त्रता पत्रकारको लागि मात्र नभई लोकतन्त्रको गहना रहेको विचार राखेका थिए।

सोही अवसरमा पत्रकारितामा विशेष योगदान गरेका प्रदेशका आठै जिल्लाका एक दर्जन पत्रकारलाई प्रमुख अतिथिले कदर पत्रबाट सम्मान गरेका थिए।

कार्यक्रममा मधेस प्रदेशका आठ वटै जिल्ला सभापतिका साथै सुरक्षा निकायका प्रमुखहरू, कार्यालय प्रमुखहरू, तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया