अब गौतमबुद्धको अस्थिधातुको दर्शन गर्न पाइने

नेपालखोज २०८० वैशाख २२ गते ५:१५

काठमाडाैं । लुम्बिनीमा गएको सोमबारदेखि भगवान गौतमबुद्धको अस्थिधातु सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुल्ला गरिएको छ । यसअघि बुद्धजयन्तीका दिन मात्र दर्शनका लागि खुल्ला गरिने बुद्धका अस्थिधातु अब सधैँ दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय बौद्ध समाजको आयोजनामा धर्मोदयसभा परिसरमा रहेको नवमैत्री महावीर बिहारको प्राङ्गणमा सर्वज्ञ धातु स्तूपा निर्माण गरी अस्थिधातु राखिएको छ ।

सर्वज्ञ धातु स्तूपा जेडरल रिम्पोछेको पूण्य स्मृतिमा राप्तेन साङ्गे लामाले निर्माण गरेका हुन् । य‍ो स्तूपामा रहेको अस्थिधातु बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दर्शन गर्न सकिने अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महस्थवीरले बताए । ‘नेपालमा आनन्दकुटि बिहारमा मात्र यसरी अस्थिधातु राखिएको मलाई जानकारी छ, त्यहाँ बुद्धपूर्णिमाको दिन दर्शनको लागि खुल्ला गरिन्छ’, उनले भने ‘हामीले लुम्बिनीमा पनि बुद्धजयन्तीकै अवसर पारेर मायादेवी प्राङ्गणमा दर्शन गर्न खोलेका थियौँ, अहिले सधैँका लागि खोलेका हौँ ।’ बुद्ध धर्ममा अस्थिधातुको निकै महत्व छ ।

भिक्षु मैत्रीका अनुसार भगवान बुद्धको महापरिनिर्वाणपछि अङ्ग, मगध, शाक्य, कोलिय, कोशल, बैशाली, पावा, कुशीनगर गरी तत्कालीन आठ राज्यबीच अस्थि बाँडफाँडबारे ठूलो विवाद भएको थियो । त्यति समयका द्रोण भन्ने ब्राम्हणले विवाद मिलाउँदै आठ राज्यलाई र अन्य दुई गरी १० स्थानमा धातु चैत्य स्थापना गरी अस्थि राखिएको थियो । अस्थि विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस वेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थवीरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगधमा ल्याइएको महावंशमा उल्लेख भएको मैत्री भिक्षुले बताए ।

पछि ८४ हजार स्तूपा बनाउने अभियानका क्रममा सम्राट अशोक भिक्षु महाकश्यपले बाँकी छाडेका अस्थिधातु (रामग्राम र कपिलवस्तु बाहेक) सङ्कलन गरी सुरक्षित स्थानमा राखेका थिए । हाल श्रीलङ्कामा रहेको उक्त स्थानबाट विभिन्न समयमा नेपाललाई प्रदान गरिएकामध्ये दुई थान र धम्मकाय फाउण्डेशनबाटसमेत गरी करिब आठ थान अस्थिधातु दर्शनका लागि खुल्ला गरिएको अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महस्थवीरले बताउनुभयो । यी धातुलाई विशेष सुरक्षासहित सुनको फूल बनाइ दर्शनका लागि राखिएको छ ।

प्रतिक्रिया