जलवायु परिवर्तनले मनसुनमा बाधा

नेपालखोज २०८० वैशाख २२ गते ७:५९

काठमाडौं । जलवायु परिवर्तनले दक्षिण एसियाको मनसुनी वर्षालाई गम्भीर रूपमा बाधा पुर्‍याइरहेको छ – एक अध्ययनबाट यस्तो जानकारी आएको हो ।

अध्ययनमा यो क्षेत्रमा अत्यधिक वर्षा हुने र त्यसले एक अर्बभन्दा बढी जनसङ्ख्या , अर्थतन्त्र, खाद्य प्रणाली तथा कृषिमा गम्भीर असर पर्ने अनुमान गरिएको छ ।

अर्थ सिस्टम डाइनामिक्स जर्नलमा प्रकाशित यो अध्ययनले विश्वभरका ३० भन्दा बढी जलवायु मोडलहरूको तुलना गरेको छ।

जर्मनीको पोट्सडम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) का लागि यो अध्ययनकी प्रमुख लेखिका अन्जा कात्जेनबर्गर भन्छिन् – हामीले तापमानमा प्रत्येक डिग्री सेल्सियस वृद्धिका लागि मनसुनको वर्षा लगभग पाँच प्रतिशतले बढ्न सक्ने बलियो प्रमाण फेला पारेका छौँ।

ग्लोबल वार्मिङले मनसुनी वर्षा पहिले सोचेको भन्दा धेरै छिटो बढिरहेको छ। यो (ग्लोबल वार्मिङ) ले २१ औँ शताब्दीमा मनसुनको गतिशीलतामा ठुलो असर पार्ने छ ।

अन्वेषकहरूले नेपाल सहित छिमेकी देशहरूमा अनावश्यक रूपमा उच्च वर्षा कृषिका लागि राम्रो कुरा नभएको टिप्पणी गरेका छन् ।

जर्मनीको लुडविग म्याक्सिमिलियन युनिभर्सिटीकी अध्ययन सह-लेखिका जुलिया पोन्ग्राट्जले भनेकी छिन् बालीलाई सुरुमा पानी चाहिन्छ, तर धेरै पानीले बोटबिरुवालाई क्षति पुर्‍याउँछ ।

यसमा धान बाली प्रमुख छ जसमा नेपालजस्तो देश सहित यो क्षेत्रको ठुलो जनसङ्ख्या निर्वाहका लागि निर्भर छ ।

यो नयाँ मनसुनी ढाँचाले अर्थतन्त्र र खाद्य प्रणालीलाई अत्यधिक संवेदनशील बनाउँछ ।

अन्वेषकहरूका अनुसार यस्तो बेमौसमी वर्षाको मात्रा बढाउन मानव गतिविधिहरू जिम्मेवार छन् । यो क्रम गएको शताब्दीको चौथो दशकमा मात्र सुरु भएको हो ।

सन् १९८० पछि मनसुन अव्यवस्थित हुनमा हरित गृह ग्यासहरूको उत्सर्जनले ठुलो भूमिका खेलेको थियो।

असिनाले बालीनाली र सम्पत्तिमा गम्भीर क्षति

असिना प्रायः मार्च र अप्रिलमा पर्छ । यसले प्रायः उत्तर पूर्वी र पश्चिमी हिमालयन क्षेत्रहरूलाई असर गर्छ। खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार असिनाले कृषिमा ठुलो क्षति पुर्‍याउँछ, बाली उत्पादनमा अचानक नोक्सानी हुन्छ र कहिलेकाहीँ ठुला बगैँचाहरू पनि नष्ट हुन्छन् ।

यस्तो प्रकोपको नोक्सानीको सही मूल्याङ्कन गर्नु पनि एउटा चुनौतीपूर्ण कार्य हो।

प्रतिक्रिया