सिञ्जाको धार्मिक तथा पर्यटकीय स्थल केदारनाथ ओझेलमा

काठमाडौं । स्थानीय सिञ्जा गाउँपालिकास्थित प्रसिद्ध मन्दिर केदारनाथलगायत थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वका स्थल प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावमा ओझेलमा परेका छन् ।
समुद्री सतहदेखि करिब तीन हजार ५०० मिटर उचाइमा केदारनाथ मन्दिर छ । यस धार्मिक क्षेत्रमा केदारनाथको मूल कुण्डभित्र चढाइएका सयौँ वर्ष पुराना तामा, पित्तल र चाँदीका सिक्काको थुप्रो र हजारौँ वर्ष पुरानो मानिएको धातु जडित उत्कृष्ट काली गढीका गौमुख भएका नुहाउने धारा थिए ।
स्थानीय बासिन्दाका अनुसार सबै सशस्त्र द्वन्द्वकलामा हरायो । यो मन्दिर भारतका चार धामभन्दा पनि पुरानो भएको मानिन्छ । अहिले केदारनाथ मन्दिरमा पुरानै आकारमा गौमुख धारा बनाएका छन् । काठबाट बनेका गाईका तस्बिर छन् । ढुङ्गा कुँदेर बनाएका मूर्ति पनि राखिएका छन् ।
जिल्लाकै सबैभन्दा आकर्षण मानिएको पवित्र तीर्थस्थल केदारनाथलाई आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रसँग जोड्न पहिलो पटक गाउँपालिकाले सम्भाव्यता अध्ययनदेखि केदारनाथको महत्त्व र यसको परिचालनबारे सम्मेलनसमेत गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल यस मन्दिरको थप आकर्षक बनेको छ । सानो पानीको कुण्डले यहाँ आउने जो कोहीको पनि मन लोभ्याउने गरेको छ ।
साउन पूणिमाको एकादशीको दिनमा ठुलो मेला लाग्ने भएकाले पूजाका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट यहाँ आउने गरेका छन् ।
यस क्षेत्रमा पर्यटन क्षेत्र विकास र पूर्वाधार निर्माणको लागि काम सुरु गरिएको जानकारी दिँदै अध्यक्ष धितालले केदारनाथसम्म सडक निर्माण भैसकेको र अब प्रचारप्रसारका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए ।
केदारनाथलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न पदमार्ग निर्माण गर्न सकिने वडा नं ४ का अध्यक्ष धनजीत बुढाले जोड दिए ।
भाकल गरिएको कुरा पुग्ने विश्वासका साथ अहिले यहाँ पूजा गर्न र अवलोकनका लागि सुर्खेत, कालिकोट, अछाम, मुगु र बाजुरालगायत स्थानबाट धार्मिक पर्यटक आउन थालेको स्थानीयवासी धनबहादुर बुढाले बताए ।
यस धार्मिक स्थललाई स्वदेश तथा विदेशमा चिनाउनका लागि प्रचारप्रसार गर्न र नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकास गराउन सके सिञ्जा क्षेत्रको विकासमा टेवा पुग्ने सुर्खेतको चौकुने गाउँपालिकाबाट आएका बुद्ध रोकायाको भनाइ थियो ।

प्रतिक्रिया