महानगरलाई तार व्यवस्थापन मुख्य चूनौति, ९ महिनामा ५३ ठाउँमा आगलागी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्युतका पोलमा भएको अव्यवस्थित तारहरुले गएको ९ महिनामा ५३ ठाउँमा आगोलागीको घटना भएका छन् ।
महानगरले सार्वजनिक गरेको तथ्यांकमा २०७९ साउन देखि चैत्रसम्ममा अव्यवस्थित तारकै कारण ५३ ठाउँमा आगोलागीका घटना भएको उल्लेख छ ।
तार व्यवस्थापनका लागि १५ दिनको समय दिएर सूचना जारी गरेपनि अदालतमा उजुरी परेपछि इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारण देखाउदै तत्काल निर्णय कार्यान्वयन नगर्न आदेश प्राप्त भएको मेयर बालेन साहले जानकारी दिए ।
उनले लेखेका छन्, ‘यसलाई व्यवस्थित बनाउन, एकिकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको थियो । त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबिच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।’
मेयर साहले समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसक्ने बताएका छन् । आगोलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाण्डौ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर रहेको बताएका छन् ।

प्रतिक्रिया