राजा चाल्र्सको राज्याभिषेकमा सहभागी हुन भारतीय उपराष्ट्रपति बेलायत प्रस्थान

नेपालखोज २०८० वैशाख २२ गते १४:१५

नयाँदिल्ली । बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन उपराष्ट्रपति जगदीप धनखर आज बिहान बेलायतको राजधानी लन्डनतर्फ प्रस्थान गरेका छन्। भोलि शनिवार राजा चाल्र्सको राज्याभिषेक हुँदै छ ।

दुई दिने बेलायत भ्रमणका क्रममा उनी राज्याभिषेक समारोहमा सहभागी हुने विश्वका विभिन्न सरकार एवम् राष्ट्र प्रमुखसँग सामूहिक भेट गर्ने छन् । समारोहमा करिब दुई हजार विश्वका विशिष्ट व्यक्ति सहभागी हुने कार्यक्रम छ । उपराष्ट्रपतिका साथ उनकी धर्मपत्नी सुदेश धनखर पनि लन्डन प्रस्थान गरेकी छिन् ।

बेलायत सरकारले भारतलगायत अन्तर्राष्ट्रिय समुदायलाई राज्याभिषेक समारोहमा आमन्त्रण गरेको छ । वेस्टमिनिष्टर गिर्जाघरमा धार्मिक विधिपूर्वक राजा चाल्र्स तृतीय र रानी क्यामिलाको राज्याभिषेक हुनेछ ।

राज्याभिषेकमा उपस्थित हुन पाउनु भारतका निम्ति सम्मानको अवसर भएको बताउँदै त्यसबाट भारत र बेलायतबिचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत पुग्ने कूटनीतिक अधिकारीहरूले बताएका छन् ।

गत वर्ष महारानी एलिजाबेथ द्वितीयको निधनपछि राज चाल्र्सले राजसिंहासन सम्हाल्नुभएको हो । सत्तरी वर्षअघि महारानी एलिजाबेथको राज्याभिषेक भएको थियो । भोलिको राज्याभिषेकलाई बेलायतभर राष्ट्रिय उत्सवका रूपमा मनाइदैछ ।

प्रतिक्रिया