आइतबार, जेठ ६, २०८१

गुजरातकाे राजस्थानमाथि सहज जित

नेपालखोज २०८० वैशाख २३ गते ५:१८

काठमाडाैं । आईपीएलको ४८ औं खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले सहजै पराजित गरेको छ । शुक्रबार अबेर सम्पन्न खेलमा राजस्थान रोयल्सको १ सय १९ रनको लक्ष्य पछ्याउन आएको गुजरात टाइटन्सले १३ दशमलव ५ ओभरमै यो लक्ष पूरा गर्यो ।

शुभमन गिल र ऋद्धिमान साहाको ओपनिङ जोडीले ७१ रनको साझेदारी गरे भने यो जोडीलाई ९.४ ओभरमा युजभेन्द्र चहलले तोडेका थिए । त्यसपछि ब्याटिङमा आएका कप्तान हार्दिक पाण्ड्याले चौका र छक्काको वर्षा गरे । हार्दिकले १५ बलमा ३९ रन बनाए भने ऋद्धिमान साहाले ४१ रन बनाए ।

त्यसअघि राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई जितका लागि १ सय १९ रनको लक्ष्य दिएको थियो। राजस्थानका कप्तान सञ्जु सामसनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि उनको टिम १७.५ ओभरमा १ सय १८ रन बनाउँदै अलआउट भयो। राजस्थानका लागि कप्तान सञ्जु सामसनले सर्वाधिक ३० रन बनाए ।

गुजरातका लागि राशिद खानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए । यो सिजन सुरु तिरै गुजरात र राजस्थान भिडेका थिए । उक्त खेलमा राजस्थानले गुजरातलाई ३ विकेटले हराएको थियो । गुजरात टाइटन्स अहिले अंक तालिकाको शीर्ष स्थानमा छ भने राजस्थान रोयल्स चौथो स्थानमा छ ।

प्रतिक्रिया