आइतबार, जेठ ६, २०८१

सहिद स्मारक ए डिभिजन : तीन क्लबको नजर शीर्षस्थानमा

नेपालखोज २०८० वैशाख २३ गते ११:५३

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन क्लबको नजर शीर्षस्थानमा रहेको छ ।

शुक्रबारको खेलमा जावलाखेल युवा क्लब खुमलटारसँग पराजित भएपछि दोस्रो स्थानको चर्च ब्वाइज, तेस्रो स्थानको थ्री स्टार र चौथो स्थानमा रहेको सातदोबाटो युवा क्लबले लिग तालिकामा फड्को मार्ने अवसर पाएका हुन् ।

शनिबार दिउँसो ३ बजे च्यासल मैदानमा चर्च ब्वाइजले न्यु रोड टिम (एनआरटी) को सामना गर्नेछ । पछिल्लो दुवै खेल जितेको चर्च ब्वाइजले शीर्ष खेलाडी चोटबाट फर्केपछि राम्रो प्रदर्शन गरेको छ ।

फ्रेन्ड्सविरुद्ध अन्तिम ५ मिनेटमा २ गोल गर्दै उत्कृष्ट पुनरागमन गरेको टोली शीर्षस्थानमा उक्लने प्रयासमा छ । क्लबले अग्रपंक्तिमा भने अझै सुधार गर्न जरुरी छ ।

यता एनआरटीले पनि पछिल्लो समय लय समातेको छ । पछिल्लो ५ मध्य ४ खेलमा अपराजित रहेको टोली रेलिगेसन क्षेत्रबाट टाढा रहन चाहन्छ । राजुकाजी शाक्यलाई आज डिफेन्डर गौरव श्रेष्ठको साथ हुने छैन ।

दिउँसो ३ बजे नै दशरथ रंगशालामा मनाङ् मर्स्याङ्दी र सातदोबाटो युवा क्लबबीच खेल हुनेछ । लगातार ६ हारको सिलसिलामा पूर्णविराम लगाएको मनाङ विष्णु गुरुङको प्रशिक्षणमा मैदान उत्रनेछ । यद्यपि गुरुङले टचलाइनमा बस्ने पाउने वा नपाउने पक्का भइसकेको छैन ।

खुमलटारको प्राविधिक निर्देशक पदबाट मुक्त भएर मनाङ आएका उनलाई एन्फाको लिग नियमले बिचमा पारेको छ । एकै सिजन दुइ फरक क्लब हेर्ने पाउने वा नपाउनेबारे नियमवालीमा केहि लेखिएको छैन ।

यता सातदोबाटोले पछिल्लो ५ खेलमा मिश्रित नतिजा निकालेको छ । सम्भावित १५ बाट जम्मा ५ अंक जोडेपछि टोली पुन: लय समात्न प्रयासरत छ । पहिलो लेगमा सातदोबाटोले मनाङलाई १-० ले पराजित गरेको थियो ।

साँझ ६ बजे थ्री स्टार र फ्रेन्ड्स दशरथ रंगशालामा भिड्नेछन् । फ्रेन्ड्सका डिफेन्डर अख्रोर्बेक उक्तामोभ तीन पहेंलो कार्डका कारण प्रतिबन्धमा छन् । त्यस्तै मिडफिल्डर तोरीक जेब्रिनले पनि चोटका कारण पछिल्लो खेल गुमाएका थिए ।

थ्री स्टार पछिल्लो तीन खेलमा जितविहिन छ । लगातार शीर्षस्थानमा उक्लने अवसर गुमाएको क्लबले गोलरक्षक मोहमद ताहाको कमजोर प्रदर्शनका कारण घाटा बेहोरिरहेको छ । पहिलो लेगमा यी दुईले ३-३ को रोमान्चक बराबरी खेलेका थिए ।

प्रतिक्रिया