आइतबार, जेठ ६, २०८१

रोमान्चक भिडन्तमा हैदरावादले राजस्थानलाई हरायो

नेपालखोज २०८० वैशाख २५ गते ५:३१

काठमाडाैं । इन्डियन प्रिमियर लिग-२०२३ को निकै रोमाञ्चक खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । सन्दीप शर्माको ओभरमा खेलको अन्तिम बलमा हैदरावादले बोनसका रूपमा पाएको फ्रि हिटले खेलको पाशा पल्टाई दियो । हैदरावादलाई अन्तिम बलमा ५ रन चाहिएको थियो, जब सन्दीप शर्माले २०औं ओभरको अन्तिम बलमा नो बल दिए ।

यस्तो अवस्थामा अब्दुल समद क्याच भए पनि आउट भएनन् । यहाँ अम्पायरले नो बलको संकेत दिए । अब हैदरावादले एक बलमा ४ रन बनाउनु थियो जसलाई अब्दुल समदले छक्का हानेर पूरा गरेका थिए । यो जितसँगै हैदरावादले प्लेअफमा प्रवेश गर्ने आशा जीवित राखेको छ । हैदरावादले प्लेअफमा प्रवेशका लागि आफ्ना बाँकी सबै खेल जित्नुपर्नेछ । जारी सिजनमा हैदरावादको यो चौथो जित हो र उसको खातामा ८ अंक छ ।

जयपुरको सवाई मानसिंह स्टेडियममा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा २ विकेट गुमाएर २१४ रन बनाएको थियो । हैदरावादका ब्याट्सम्यानले २० ओभरमा ६ विकेट गुमाएर २१५ रनको लक्ष्य पुरा गरेका थिए । १९ औं ओभरमा तीन छक्का र एक चौका प्रहार गर्ने ग्लेन फिलिप्स प्लेयर अफ दि म्याच भए । आईपीएलको यो सिजनमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स दोस्रो पटक आमनेसामने भएका हुन् ।

पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनको ठूलो अन्तरले पराजित गरेको थियो । राजस्थान रोयल्स यो खेल अघि र पछि पनि चौथो स्थानमा छ । राजस्थानले ११ खेल खेलेको छ , जसमध्ये पाँचमा जित निकालेको छ । सनराइजर्स हैदरावादले यो सिजनमा सबैभन्दा खराब प्रदर्शन गरिरहेको छ । यद्यपि आजको जितसँगै हैदरावाद दशौंबाट नवौं स्थानमा उक्लिएको छ । हैदरावादले १० मध्ये ६ खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया