सोमबार, वैशाख २४, २०८१

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भू–भागमा हावाहुरीको सम्भावना

नेपालखोज २०८० वैशाख २५ गते ११:५८

काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने छ । 

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

यसै गरी आज अपराह्न १/२ बजेपछि केही बेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् मानन्धरले बताए । उनका अनुसार प्रि–मनसुनको समयमा पानी पार्ने प्रणाली सक्रिय नहुँदा तीव्र गतिमा हावाहुरी चल्ने हुन्छ । केही दिन अघि पानी परेका बेला हावाहुरी चलेको थिएन । घाम लाग्न थालेसँगै हावाहुरी चल्न थालेको उनको भनाइ छ । 

देशका धेरै ठाउँमा आज बिहानैदेखि घाम चर्किएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मौसम आंशिक बदली छ । यी प्रदेशमा दिउँसो हल्का पानी पर्ने अनुमान गरिएको छ ।

आज राति कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशको मौसम भने बदली हुने अनुमान गरिएको छ । तत्काललाई देशभर नै ठुलो पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया