आइतबार, जेठ ६, २०८१

सहिद भीमनारायण गोल्डकप : वीरगन्ज युनाइटेडसँग एपिएफ पराजित

नेपालखोज २०८० वैशाख ३१ गते ६:३९

धनकुटा । जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा वीरगन्ज युनाइटेड क्लबले साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ ।

वीरगन्जले एपिएफलाई टाइबेकरमा हराएको हो । निर्धारित खेल खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि वीरगन्जले टाइबेकरमा एपिएफलाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।

जितसँगै वीरगन्ज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफको २३औँ मिनेटमा वीरगन्जका नीरज थापाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफमा वीरेन्द्रप्रसाद यादवले रेडकार्ड पाएपछि एपिएफ १० खेलाडीमा सिमित बनेको थियो ।

आक्रामक शैलीमा उत्रिएको एपिएफका तर्फबाट खेलको ६३औँ मिनेटमा सन्तोष कटवालले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएका थिए ।

खेलको ८४औँ मिनेटमा प्रवीनकुमार स्याङदेनले थप एक गोल गर्दै एपिएफलाई २–१ गोलको अग्रता दिलाए । वीरगन्जका विवेक चौधरीले खेलको ८६औँ मिनेटमा गोल गरेपछि खेल बराबरीको अवस्थामा पुग्यो ।

टाइबेकरमा वीरगन्जका तर्फबाट श्याम चौधरी, सिसस थापा, उमेश कार्की र नीरज थापाले गोल गरेका थिए । यस्तै एपिएफका तर्फबाट एकमात्र गोल प्रवीनकुमार स्याङ्देनले गरे । प्रतियोगिताअन्तर्गत आइतबार पेमा युवा क्लब विराटनगर र प्लानिङ ब्वाइज क्लब काठमाडौँबीच समिफाइनल खेल हुनेछ ।

पेमाले आयोजक धनकुटालाई टाइबेकरमा हराउँदै तथा प्लानिङ ब्वाइजले भारत, सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया