सोमबार, वैशाख २४, २०८१

सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

नेपालखोज २०८० जेठ १ गते १५:२६

भजनी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् ।

कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले भने, ‘सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँ । त्यो महसुस हामीले पनि पुगेका छौँ, केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो ।’

उनले सरकारले पूर्णता पाएसँगै सरकारले गर्नुपर्ने कार्यले गति लिने बताएका छन् । अहिले चार मन्त्रालय मुख्यमन्त्री शाहले सम्हालेका छन् ।

सात मन्त्रालय रहेको प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका चार मन्त्रालयका लागि प्रदेशमा सहभागी दलबिच सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन नसकेको हो ।

सो अवसरमा उनले जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बन्नुपर्ने बताए । मुख्यमन्त्री शाहले सेवा प्रवाहमा नागरिकसँग जनप्रतिनिधि र कर्मचारी जोडिने गरेको भन्दै नागरिकले गरेको अपेक्षा अनुसार काम गर्ने गरी जिम्मेवार बन्नुपर्ने बताए ।

‘नागरिकले विश्वास गरेर नेतृत्व गर्न पठाएका हुन्छन् । हामीले नागरिकको विश्वास डगमगाउने गरी काम गर्नुहुँदैन’, मुख्यमन्त्री शाहले भन, ‘त्यसका लागि सेवा प्रवाह गर्ने कर्मचारी र नीति नियम बनाउने जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ ।’ उनले प्रदेश सरकारले यसअघिको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए ।

‘नराम्रा काम निरुत्साहित गर्दै राम्रा कामलाई निरन्तरता दिन्छौ’, मुख्यमन्त्री शाह भने, ‘स्थानीय सरकारले धेरै नागरिकले सुविधा पाउने खालका योजना माग गर्न म सुझाव दिन्छु ।’

प्रतिक्रिया