बुधबार, जेठ २, २०८१

आईपीएल : लखनउले मुम्बइलाई हरायो

नेपालखोज २०८० जेठ ३ गते ५:१३

काठमाडाैं । आईपीएलको रोमाञ्चक खेलमा लखनउ सुपर जायन्ट्सका बलर मोहसिन खानले अन्तिम ओभरमा खेललाई पल्टाएर मुम्बई इन्डियन्सविरुद्ध ५ रनले जित दिलाएका छन् । यो जितसँगै लखनउ सुपर जायन्ट्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने उसको प्लेअफमा पुग्ने आशा अझ बलियो भएको छ । यो खेलको अन्तिम तीन ओभरमा मुम्बई इन्डियन्सले जितका लागि ३९ रन जोड्नु थियो ।

१८औं ओभरमा यश ठाकुरले ९ रन दिएर एक विकेट लिए । त्यसपछि १९ औं ओभरमा टिम डेभिडले नवीन उल हकलाई दुई छक्का प्रहार गर्दा मुम्बई इन्डियन्सले १९ रन बनाएको थियो । अन्तिम ओभरमा मुम्बई इन्डियन्सले जितका लागि ६ बलमा ११ रन जोड्नु थियो । एक छेउबाट टिम डेभिड र अर्को छेउबाट क्यामरुन ग्रीन पिचमा थिए तर लखनउ सुपर जाइन्ट्सका मोहसिन खानले अन्तिम ओभरमा ५ रन मात्र बनाउन दिए र मुम्बई इन्डियन्स ५ रनले पराजित भयो ।

योसँगै लखनउ सुपर जायन्ट्सले यस आईपीएल–१६ मा सातौं जित हात पार्दै अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । लखनउ सुपरजायन्ट्स इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफको निकै नजिक पुगेको छ । लखनउ आधिकारिक छनोटबाट मात्र २ अंक टाढा छ। लखनउले घरेलु मैदानमा मुम्बई इन्डियन्सलाई ५ रनले पराजित गरेको हो । लखनउले १३ खेलमा सातौं जित हात पारेको छ भने उसको खातामा १५ अंक छ । यता मुम्बईले १३ खेलमध्ये छैटौं हार बेहोरेको छ । आईपीएलको यो सिजनमा आरसीबी र पञ्जाबसँग पनि बराबरी मौका छ मुम्बईसँगको हारपछि आरसीबी र पञ्जाबको पनि प्लेअफमा पुग्ने सम्भावना छ ।

आरसीबीको हाल १२ खेलबाट १२ अंक छ भने उसको नेट रन रेट + ०.१६६ छ। यस्तो अवस्थामा यदि आरसीबीले आफ्ना आगामी दुवै खेल जित्यो भने उसका लागि मुम्बईभन्दा राम्रो मौका हुनेछ । पञ्जाबको पनि १२ अंक मात्र छ । तर -०.२६८ को कमजोर रन रेटका कारण उ समस्यामा छ । यस्तो अवस्थामा पञ्जाबले आफ्ना आगामी दुवै खेल राम्रो अन्तरले जित्नुपर्नेछ। प्लेअफमा छनोट हुने ठूलो सम्भावना भएको अर्को टिम चेन्नै हो ।

सीएसके (CSK) को १३ खेलबाट १५ अंक छ र उ अंक तालिकाको दोस्रो स्थानमा छ। सिएसकेले अब क्वालिफाई गर्न आफ्नो अर्को खेल जित्न आवश्यक छ। यसबाहेक राजस्थान रोयल्स र केकेआरको सबै आशा अन्य टिमको हारमा निर्भर छ ।

प्रतिक्रिया