शनिबार, जेठ ५, २०८१

सम्झनु पर्ने जेठ ३

सुनील उलक २०८० जेठ ३ गते ७:३९

आज जेठ ३ मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्यु भएको दिन । उहाँको देहावसानले केवल नेकपा एमालेले पार्टीको महासचिव मात्रै गुमाएन । देशले वास्तवमा देशलाई बुझ्न खोजेको राजनेता गुमाएको थियो । यदि मदन भण्डारी जीवित रहेको भए पार्टीलाई लामो समयसम्म नेतृत्व लिइरहन्थ्यो । यहीँ डरले तत्कालीन समयमा उनको पछाडि रहेका पार्टीको हाइकमाण्डमा रहेका केहीको षड्यन्त्रका कारण नै उनको हत्या भएको हुन सक्छ ।

२०५० जेठ ३ गते चितवनको दास ढुङ्गामा जिप दुर्घटना भयो । म सोही दिन काठमाडौं जाँदै थिए । ठाउँ ठाउँमा पहिरो खसेको हुँदा मुग्लिङ देखी अगाडी सडक बन्द थियो । म ५-६ घण्टा देखी सडक खुल्ने आशामा मुग्लिङमा अल्झिरहेको थिएँ । त्यहाँ धेरैका धेरै कुरा सुनिएका थिए । केवल अडकल काट्नु बाहेक केही पनि गर्न सकिने थिएन । पोखरामा भएको एमालेको जिल्ला अधिवेशन समाप्त भएपछि दुई नेतागण चितवनमा हुने अखिल नेपाल महिला सङ्घको भेलामा आउँदै थिए । अचानक चितवन पुग्न लाग्दा दास ढुङ्गामा उहाँहरू चढेको पजेरो गाडी दुर्घटनाग्रस्त भएको थियो ।

अविरल वर्षाले त्यो दिन शव खोज्ने कार्य रोकिएको थियो । भेटिएका गाडी चालक अमर लामालाई प्रहरी निगरानीमा अस्पतालमा राखियो । घटनाको पर्सिपल्ट जेठ ५ गते मदन भण्डारीको शव चितवनकै गाँजीपुरमा भेटियो । जीवराज आश्रितको शव भने गाडी भित्र नै भेटिएको थियो । त्यस दिन सर्वसाधारणद्वारा श्रद्धाञ्जली प्रकट गर्न भरतपुरको प्रहरी कार्यालय अगाडि चौरमा दुवैको शव राखिएको थियो। चितवनमा रहेका हजारौँ कार्यकर्ता तथा सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।

त्यसै दिन शवलाई काठमाडौं पठाइएको थियो । पशुपति आर्यघाटमा दाहसंस्कार गरिएका मदन भण्डारीको शव पोस्टमार्टम गर्ने क्रममा निकालिएका मुटु, कलेजो, फोक्सोका भिसेरा अझै पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सुरक्षित राखिएका छन् । अन्तिम संस्कार पछि बचेको खरानी पनि अस्तुको रूपमा जिल्ला जिल्लामा पठाइएको थियो ।

समय बित्दै गयो अब त केवल श्रद्धाञ्जली मात्र दिन सक्छौ । हत्या हो वा दुर्घटना हो वास्तविक छानबिन नै भएन वा गर्न चाहेन । देशको परिवर्तनको एउटा आशा थियो सेलायो । समय छिट्टै बितेछ आज ३० वर्ष पुरा भएकाे छ ।

मदन-आश्रित प्रति हार्दिक श्रद्धाञ्जली।

प्रतिक्रिया