शनिबार, जेठ ५, २०८१

भारतको असममा भुँडे पुलिसहरू लाई बिदा गरिने

नेपालखोज २०८० जेठ ४ गते ८:३०

काठमाडौं । भारतको पुर्वोत्तर राज्य असममा प्रहरीलाई पेट र तौल घटाउन तीन महिना अर्थात अगस्त १५ सम्मको समय दिइएको छ ।

त्यसपछि प्रहरी महानिर्देशकदेखि तल्लो तहसम्मका प्रहरीको बडी मास इन्डेक्स (बिएमआई) मापन गरिनेछ । जसको बीएमआई उच्च छ उनीहरुलाई सुधार गर्न थप तीन महिनाको समय दिइनेछ । यसका बाबजुद पनि उनीहरुको तौल घटेन भने उनीहरुलाई भिआरएस अन्तर्गत अवकाश दिइनेछ ।

असमका मुख्यमन्त्रीले गत महिना असम प्रहरीका करिब ३०० कर्मचारीलाई रक्सीको समस्याका कारण अवकाश दिइने बताएका थिए। अब त्यसलाई एक कदम अगाडि बढाउँदै सरकारले मोटा प्रहरीलाई तीन महिनाको अल्टिमेटम दिँदै यो अवधिमा फिट बस्न वा अवकाश लिन तयार हुन भनेको छ ।

असम पुलिसले मोटे पुलिसकर्मीहरूको आधिकारिक रेकर्ड राख्नेछ । यसका लागि उनीहरुको बडी मास इन्डेक्स (BMI) मापन गरिनेछ ।

असम पुलिस मुख्यालयले आइपीएस र असम पुलिस सेवा अधिकारीहरू सहित सबै पुलिस कर्मचारीहरूको बडी मास इन्डेक्स (BMI) व्यावसायिक रूपमा रेकर्ड गर्ने निर्णय गरेको छ।

असमका प्रहरी महानिदेशक जीपी सिंहले आफ्नो एउटा ट्वीटमा भनेका छन्, हामी असमका सबै प्रहरीहरूलाई अगस्ट १५ सम्म तीन महिनाको समय दिनेछौं । त्यसपछिको १५ दिनमा उनीहरूको बीएमआई नापनेछ ।

बीएमआई ३० भन्दा बढी हुनेलाई तौल घटाउन थप तीन महिना दिइनेछ । त्यसपछि पनि उनिहरुको तौलमा कुनै सुधार नआए उनीहरूलाई स्वैच्छिक अवकाश (VRS) लिन भनिनेछ।

हाइपोथाइराइडिज्म जस्ता चिकित्सा समस्या भएका व्यक्तिलाई यस मामिलामा छुट दिइने उनले बताए। सिंह आफैले पहिलो पटक १६ अगस्टमा आफ्नो बीएमआई नाप्नेछन्।

प्रहरी महानिर्देशकले गत साता मदिरा सेवन गर्ने वा मोटोपन भएका ६८० भन्दा बढी प्रहरीको सूची तयार पारेको कुरा बताएका थिए । यसमध्ये कर्तव्य पालना गर्न अयोग्य नभेटेकालाई अनुगमन गरी स्वेच्छिक अवकाश दिइनेछ ।

यो सूची लाई पुष्टि गर्न गण र जिल्ला स्तरमा समिति गठन गरिएको छ जसको कमाण्डमा क्रमशः नायब कमाण्डेन्ट र प्रहरी अतिरिक्त उपरीक्षक तहका अधिकृत रहनेछन् ।

सूचीमा नाम परे पनि भिआरएस नचाहनेहरुलाई फिल्ड ड्युटीबाट हटाइने सिंहले बताए । प्रहरीका अनुसार मदिराको लतमा परेका थप ३ सय जवानको पहिचान भैसकेको छ । जसका कारण उनीहरुमाथि कर्तव्यमा लापरवाही गरेको आरोप मात्र लागेको छैन प्रहरीको छवि समेत ध्वस्त भएको छ ।

प्रतिक्रिया