बिहीबार, वैशाख १३, २०८१

आयो होन्डाको पहिलो इलेक्ट्रिक स्कुटर

नेपालखोज २०८० जेठ ४ गते १६:५९

काठमाडाैं । होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ । होन्डाले सन् २०२५ सम्ममा विश्वव्यापी रूपमा १० भन्दा बढी विद्युतीय दुई पाङ्ग्रे मोडल बजारमा उतार्ने योजना बनाएको छ जसमा यो स्कुटर पहिलो मोडल हो ।

ईएमको अर्थ इलेक्ट्रिक मोपेड हो । यो मोडल सजिलो तथा शहरी यातायात खोज्ने युवाहरुलाई लक्षित भएको कम्पनीले बताएको छ । यो स्कुटर कम्प्याक्ट, फ्ल्याट-फ्लोरेड तथा स्मूथ स्टाइलिंगका साथ होन्डाको भिन्न बिशेषता र अद्वितीय पहिचानले युक्त भएको बताइएकाे छ ।

आकर्षक डिजाइनको यो नयाँ इलेक्ट्रिक स्कुटरको अगाडिको भागलाई कर्वी स्टाइल र पछाडिको भागलाई एंगुलर शेप दिइएको छ । स्कुटरमा एलईडी लाइटका साथै अन्डरसिट स्टोरेज, बोतल होल्डर, युएसबी चार्जर र एप्रोनमा हुक पनि उपलब्ध छन् । यसमा पिलियन फुटपेगहरू, रियर क्यारियर तथा द्रुत पार्किंगका लागि साइड स्ट्यान्ड दिइछ छ ।

यो स्कुटरमा ०.५८ किलोवाटको हब माउन्टेड मोटर दिइएको छ, जसले १.७ किलोवाटको पावर जेनरेट गर्छ । लिथियम आयन ब्याट्री प्रयोग गरिएको यो स्कुटरले सिंगल चार्जमा ४८ किलोमिटर दिने कम्पनीको दाबी छ । यसको ब्याट्रीको वजन लगभग १० किलोग्राम छ भने यसको चार्जर ५.३ केजीको छ ।

हाल होन्डाले यो स्कुटरको मूल्य भने सार्वजनिक गरेकाे छैन ।

प्रतिक्रिया