मंगलबार, जेठ १, २०८१

आरसीबीले हैदरावादलाई ८ विकेटले हरायो

नेपालखोज २०८० जेठ ५ गते ५:१०

काठमाडाैं । आईपीएल २०२३ को ६५औं लिग खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ । प्लेअफको दौडमा कायम रहन आरसीबीलाई कुनै पनि हालतमा जित्न आवश्यक थियो र उसले त्यसमा सफलता हात पार्यो । विराट कोहलीको शानदार शतक र कप्तान फाफ डु प्लेसिसको सिजनको आठौं अर्धशतकीय इनिङ्सका कारण बेंगलोरले यो खेल सजिलै जितेको हो ।

आरसीबीको यो १३ औं खेल थियो । अब उसले अन्तिम खेल मे २१ मा गुजरात टाइटन्ससँग खेल्नेछ । यो सिजनको अन्तिम लिग खेल हुनेछ । राति अबेर सम्पन्न आजको खेलमा आरसीबीका कप्तान फाफ डु प्लेसिसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए जसमा सनराइजर्स हैदरावादको सुरुवात राम्रो हुन सकेन । दुबै ओपनर राहुल त्रिपाठी र अभिषेक शर्मालाई पावरप्लेको सुरुवाती ओभरमा माइकल ब्रेसवेलले आउट गरेका थिए । त्यसपछि हेनरिक क्लासेनले इनिङलाई सम्हाले । उनले १०४ रनको बलियो इनिङ खेलेपछि सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो ।

जवाफमा आरसीबीका लागि ओपनर कोहली र डु प्लेसिसले १ सय ७२ रनको शानदार साझेदारी गर्दै आफ्नो टिमलाई एकतर्फी जित दिलाए। आरसीबीले १९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । विराटले १०० रनको इनिङ्स खेल्दा डु प्लेसिसले ७१ रन बनाए । विराट कोहलीको ६३ बलमा १०० रन लिँदा हैदरावादका हेनरिक क्लासेनले ५१ बलमा १०४ रन बनाएका थिए ।

दुवैले आ-आफ्नो टिमका लागि शतक बनाए पनि विराटको शतक नै टिमको जितमा काममा लाग्यो । आरसीबीको यो सातौं जित हो । योसँगै उ प्लेअफको दौडमा कायमै छ । यो हारपछि हैदरावाद अन्तिम स्थानमा छ । हैदरावादले १३ खेलमध्ये ९ खेलमा हार बेहोरेको छ । आरसीबीको कुरा गर्ने हो भने उ यो जितसँगै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । यसअघि आरसीबीले राजस्थानलाई ११२ रनले पराजित गर्दै ठूलो जित दर्ता गरेको थियो ।

अब आरसीबीले मुम्बई इन्डियन्सको तनाव बढाएर उसलाई पाँचौं स्थानमा झारेको छ । आरसीबीले आफ्नो अन्तिम खेल गुजरातसँग र मुम्बईले सनराइजर्ससँग खेल्न बाँकी छ। यदि दुबै टिमले जिते भने प्लेअफका लागि राम्रो रनरेटमा सेमिफाइनल खेलको निर्धारण हुनेछ । अर्कातर्फ, लखनउ र चेन्नइ को अन्तिम खेलको नतिजामा पनि भावि समीकरण निर्भर हुनेछ ।

प्रतिक्रिया