शुक्रबार, चैत १६, २०८०

बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै

नेपालखोज २०८० जेठ ६ गते ७:३४

काठमाडाैं । सार्वजनिक स्थानको संरक्षण हुनेगरी सुन्दर बनाइएका पार्कको व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउनका लागि राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा राष्ट्रिय पार्क सम्मेलन हुँदै छ । बुटवलमा यस किसिमको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएकोे पहिलो हो । सम्मेलनमा देशभरका करिब एक सय पार्कबाट एक सय ५० देखि एक सय ६० जनासम्म प्रतिनिधि सहभागी हुनेछन् ।

बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को अगुवाइमा जेठ ६ र ७ गते आयोजना गरिने सम्मेलन धेरैजसो पार्क वन क्षेत्रभित्र रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको मणिमुकुन्दसेन उद्यानका अध्यक्ष खेम लुइँटेलले बताए ।

पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यका लागि पार्कको महत्व भए पनि कानुनीरुपमा कुनै सम्बोधन नगरिएकाले यसबाट कानुन निर्माणमा तीनै तहका सरकारलाई दबाब पुग्ने अपेक्षा गरिएको शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए ।

नेपालको आर्थिक समृद्धिका लागि पर्या–पर्यटन एक महत्वपूर्ण पक्ष भएकाले वन क्षेत्रभित्र सञ्चालित पार्कलाई सहजरुपले काम गर्न ठोस नीतिगत व्यवस्थाका लागि पार्कको राष्ट्रियस्तरको सञ्जाल निर्माण गरिने सम्मेलनका प्रचार संयोजक डिआर घिमिरेले बताए ।

सम्मेलनमा पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानुनी जटिलताका विषयमा संविधानविद् काशीराज दाहालले कार्यपत्र पेस गर्ने छन् । समुदायबाट सञ्चालित पार्कमा लगाइएको मूल्यअभिवृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माण कार्यका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ । सम्मेलनमा देशभरका करिब सयवटा पार्कका व्यवस्थापन समितिका पदाधिकारी सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया