सोमबार, वैशाख १७, २०८१

केकेआरलाई १ रनले पराजित गर्दै लखनउ प्लेअफमा

नेपालखोज २०८० जेठ ७ गते ५:१८

काठमाडौं । आईपीएल-२०२३ को ६८औँ खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई एक रनले पराजित गर्दै प्लेअफको टिकट पक्का गरेको छ ।

पछिल्लो अर्को खेलमा दिल्लीलाई पराजित गर्दै चेन्नई सुपर किंग्सले प्लेअफको टिकट पक्का गरेको थियो अर्थात् अहिले प्लेअफका लागि तीन टिमको टुङ्गो लागेको छ भने अन्तिम स्थानका लागि आरसीबी र मुम्बई इन्डियन्सबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।

शनिवार राति अबेर सम्पन्न खेलमा केकेआरका कप्तान नितिश राणाले पहिले बलिङ गर्ने निर्णय गरेका थिए । लखनउले यो खेल जिते पनि फेरि एक पटक रिंकु सिंहले दर्शकको मन जितेका छन् । यो खेल कोलकाताको इडेन गार्डेनमा खेलिएको थियो । यो हारसँगै केकेआरको यो सिजनको यात्रा समाप्त भएको छ ।

इडेन गार्डेनमा लखनउ सुपर जायन्ट्सले राम्रो सुरुवात गर्न सकेन किनभने उसको आधा टिम ७३ रन मै प्याभिलियन फर्किसकेको थियो । त्यसपछि निकोलस पूरनले ३० बलमा ५८ रनको शानदार इनिङ खेल्दै आफ्नो टिमको स्थिति सम्हालेका थिए ।

उनलाई आयुष बडोनीले साथ दिँदै २१ बलमा २५ रन बनाए भने उनीहरूले छैटौँ विकेटका लागि ७४ रनको साझेदारी गरे । अन्त्यमा कृष्णप्पा गौतमले ४ बलमा ११ रन बनाएर लखनउको स्कोर १७६ मा पुर्‍याए ।

खेल लखनउले जित्यो र मन भने रिंकुले

१७७ रनको लक्ष्य पछ्याएको केकेआरले राम्रो सुरुवात लिएको थियो । वेंकटेश अय्यर र जेसन रोयले धमाकादार सुरुवात गरे । त्यसपछि केकेआरको इनिङ्स खस्कियो र उसले तीव्र गतिमा मध्य क्रमका विकेट गुमायो ।

अन्त्यमा फेरि पनि रिंकु सिंहले अन्तिम बलसम्म लडे । उनले ३३ बलमा ६ चौका र ४ छक्का सहित अविजित ६७ रन बनाए । केकेआरलाई अन्तिम ओभरमा २१ रन चाहिएको थियो। जसमा उ एक रनले पराजित भयो ।

प्रतिक्रिया