शुक्रबार, असोज ४, २०८१

दीपायलमा एकीकृत प्रजनन स्वास्थ्य शिविर

नेपालखोज २०८० जेठ ८ गते १४:२८

दीपायल । दीपायलमा महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सुरु गरिएको छ ।

डोटीको दीपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल परिवार नियोजन सङ्घ डोटी शाखाको आयोजना र नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा दीपायल सिलगढी नगरपालिका– १ तिखा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो ।

दीपायल सिलगढी नगरपालिकाका प्रमुख बाजिसिंह खड्काले स्वास्थ्य नै धन भएकाले नगरबासीको स्वास्थ्यमा पालिकाले विशेष ध्यान दिएको बताए । शिविरमा परीक्षणका क्रममा रोग देखिएमा नलुकाइ समयमै उपचार गर्न उनले जोड दिए ।

शिविरमा पाठेघर खसेका महिलाको उपचार तथा स्क्रीनिङ, परिवार नियोजनको लामो अवधिको अस्थायी साधन सेवा, पाठेघरको मुखको सम्भावित क्यान्सरसम्बन्धी जाँच, यौन रोगको उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । साथै गर्भवतीका लागि भिडियो एक्स–रे सेवा समेत उपलब्ध गराइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर खड्काले बताए ।

शिविरमा सुजुङ अस्पताल राजपुरमा कार्यरत डाक्टर चेतन अवस्थीको नेतृत्वमा नेपाल परिवार नियोजन सङ्घ डोटीकी निम्ति प्रमुख कृष्णा साउद, जिल्ला अस्पतालमा कार्यरत मीना बम र नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सम्झना पछाइ, राजेश मालासीको टीमले शिविरमा सेवा दिँदैआएको छ ।

शिविर जेठ ८ गते खातीवडा स्वास्थ्य चौकी, जेठ ९ गते नगर स्वास्थ्य केन्द्र बाफि, जेठ १० गते नगर स्वास्थ्य केन्द्र, नारी दाङ, जेठ ११ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र पाकरी, जेठ १२ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र, बागठाटा र जेठ १४ गते कनेला स्वास्थ्य चौकीमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया