गयानाको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु
जर्जटाउन । गयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
‘यो ठूलो विपत्ति हो । यो भयानक छ, यो दर्दनाक छ,’ दक्षिण अमेरिकी राष्ट्र युयनाका राष्ट्रपति इरफान अलीले स्थानीय समय अनुसार आइतबार राति भने ।
मध्य गुयानास्थित महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ भने कैयौँ घाइते भएका छन् ।
अलीले आगलागीबाट घाइते भएका सबै बालबालिको उपचार भइरहेको बताए । उनले राजधानी जर्जटाउनका दुई प्रमुख अस्पतालमा हरेक बालबालिकालाई ध्यान दिन आवश्यक सम्भावित सबै व्यवस्था गर्न आदेश दिएको बताए ।
जर्जटाउनबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको महदिया क्षेत्रमा भारी वर्षाका कारण स्थल मार्ग विच्छेद् भएकोले निजी र सैन्य विमान उद्धारका लागि पठाइएको उनले बताए ।
विपक्षी सांसद नताशा सिंह लुईसले आगलागीको कारणबारे छानबिन गर्न माग गरेका छन् ।
उनले भने, ‘हामीले यो सबैभन्दा भयानक र घातक घटना कसरी भयो भनेर बुझ्न आवश्यक छ र यस्तो त्रासदी फेरि हुन नदिन आवश्यक सबै उपायहरू चाल्नु आवश्यक छ ।’
करिब आठ लाख जनसङ्ख्या भएको तीव्र विकासलाई पछ्याउने आशा गरेको सानो अङ्ग्रेजी भाषी देश गयाना विश्वको सबैभन्दा ठूलो प्रतिव्यक्ति तेल भण्डार भएको पूर्व डच र बेलायती उपनिवेश हो ।
प्रतिक्रिया