कसरी चिन्ने अर्गानिक उत्पादन ?

काठमाडौं । हाम्रो भू–बनोट अनुसारको खेती, बाली प्रणाली, हरियो मल, जैविक सामग्रीको प्रयोग, कृषि बन पद्धतिको सम्बद्र्धन गर्दै रसायनिक पदार्थको प्रयोग बिना नै बाली उत्पादन एवं पशुपालन गर्दै आफ्नो र आफ्नो समुदाय र त्यस वरपरको पर्यावरण संरक्षण गर्दै खेती गर्नु नै प्राङ्गारिक खेती हो ।
विभिन्न वैज्ञानिक एवम् सम्वन्धित संघ–संस्थाहरू अनि यो विषयलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएका सरकारी निकायले दिएको परिभाषामा समेत प्राङ्गारिक कृषिलाई यसै गरेर परिभाषित गरेको पाइन्छ ।
जहाँ जे–जस्तो परिभाषा दिएको भए पनि आफ्नै बारी, बगैँचा वा स्वीकारयोग्य स्थानबाट ल्याएको जैविक सामाग्री प्रयोग गर्दै आवश्यक खातापाता सहित कृषि वा पशुपालनसँग सम्बन्धित उत्पादन गर्ने प्रणाली लागू गरिएको हुन्छ भने त्यसलाई प्राङ्गारिक कृषि भनिन्छ ।
रसायनिक पदार्थ प्रयोग नगर्नु मात्रै प्राङ्गारिक कृषि होइन । यसका अलावा यो पद्धति भनेको हाम्रो वातावरण, परम्परा, संस्कृतिको जगेर्ना, प्रवद्र्धन एवं संरक्षण गर्ने विधि पनि हो । यो पद्धतिमा स्थानीय बिउ, स्थानीय ज्ञान र सीपलाई पनि उत्तिकै महत्व दिइएको हुन्छ।
प्राङ्गारिक कृषिको विशेषता
पर्यावरणीय विशेषता
- भू–संरक्षण तथा जलाधार व्यवस्थापनमा सहयोगी ।
- जैविक विविधता संरक्षणमा सहयोगी ।
- जैविक जीवाष्म, प्राङ्गारिक पदार्थ तथा माटोमा बिरुवालाई चाहिने खाद्य तत्वको पुनर्प्रयोगको बढी सम्भावना ।
- माटोमा हुने करोडौ सूक्ष्म जीवाणुको लागि उचित आश्रय ।
- वायुमण्डलमा हुने, बिरुवाबाट प्राप्त हुने तथा सूक्ष्म जीवाणुबाट प्राप्त हुने खाद्य तत्व संयोजन गर्न प्राङ्गारिक कृषि पद्धति जति सहज अन्य छैन ।
- प्राङ्गारिक कृषि पद्धतिले लक्षणको वकालत गर्ने नभै प्रणाली स्थापनामा जोड दिने गर्छ ।
- प्राङ्गारिक कृषि पद्धतिमा विस्थापन होइन कि पुनस्र्थापना र पुनर्जिविकरण मुख्य चासोको विषय हो ।
- यदी पर्यावरण स्वस्थ भयो भने यस भित्रबाट उत्पादित सामग्री पनि स्वस्थ हुन्छ, हामी स्वस्थ हुन्छौ, हामी स्वस्थ हुन् सकेमा हाम्रो परिवार, समाज अनि देश स्वस्थ हुन्छ ।
- राष्ट्रिय नीतिको तहमा प्राङ्गारिक कृषिलाई राख्न सकिएमा देशको निजि वा सार्वजनिक सिमान्त जमीनलाई जैविक सामग्री (जैविक जीवाष्मको श्रोत) को आपूर्तिको लागि प्रयोग हुन सक्छ ।
सामाजिक बिशेषता
- प्राङ्गारिक कृषिले परम्परागत ज्ञान सीपको संरक्षण, सम्वद्र्धनमा चासो दिने हुँदा सांस्कृतिक पाटोमा योगदान पुर्याउने पद्धति मानिन्छ ।
- प्राङ्गारिक कृषि पद्धतिको एउटा प्रमुख उद्देश्य-विशेषता भनेको सफा व्यापार, भावी पिँढी र स्याहार–सुसार पनि भएको हुँदा यो पद्धतिले सामाजिक विकासमा ठुलो योगदान दिन सक्छ ।
- प्राङ्गारिक कृषि पद्धतिले जानकारी संकलन, अभिलेखन, प्रारम्भिक परीक्षण, अनुसन्धान, सिद्धान्त प्रतिपादन तथा यसको पहिचान गराउने तथा प्राचार प्रसारमा लाग्ने कार्य सहभागितात्मक तरिकाले गर्ने हुँदा यो प्रक्रिया मै यसको सामाजिक योगदान पुष्टि हुदै जान्छ ।
- नेपाल जस्तो साना कृषकहरूको बाहुल्यता भएको देशमा प्राङ्गारिक कृषि समूह गठन गरेर सोही पद्धति अन्तर्गत माटो, वरपरको वातावरण, उत्पादित वस्तुको गुणस्तर सम्बन्धित देशले (नेपाल सरकारले) तोकेको मापदण्ड मुताबिक छ छैन भन्ने मापन गर्न आन्तरिक नियन्त्रण प्रणाली लागू गर्नु पर्ने हुन्छ । यो प्रणालीले पनि सामाजिक विकास, आपसी सद्भाव, अनुभव तथा जानकारी आदान–प्रदान गर्ने विषयलाई पूर्वशर्तको रूपमा राख्ने हुँदा सामाजिक योगदान बढेर जान्छ ।
- प्राङ्गारिक वस्तुको गुणस्तर मापन हेतु संचालन गरिने आन्तरिक नियन्त्रण प्रणाली अरू विधा दुग्ध व्यवसाय, बचत ऋण, वन समूह, खानेपानी, सिंचाई, सामुदायिक स्वास्थ्य लगायतका अनेक क्षेत्रमा प्रयोग गर्न सकिने हुँदा यसले अझ ठुलो र सकारात्मक योगदान पुर्याउने कुरा स्पष्ट छ । योसँगै हरेक विषयमा रेकर्ड राख्ने, क्षमता विकास, तालिमजस्ता कुरालाई पनि यो अभियानले सघाउ पुग्ने हुँदा राष्ट्रिय तथ्यांक राख्ने पद्धतिमा पनि प्राङ्गारिक कृषिले योगदान पुर्याउन सक्छ ।
- देशमा विगत केही वर्षदेखि भइरहेको राजनैतिक परिवर्तन तथा अरू अप्ठ्यारा गतिविधिका कारण पनि हाम्रो ग्रामीण क्षेत्रमा बसोवास कम हुँदै शहरी क्षेत्र तर्फ बढ्न गएको छ । आन्तरिक मात्र नभै अन्तर्राष्ट्रियस्तर मै बसाइँ–सराई बढी रहेको अवस्थामा प्राङ्गारिक कृषिका केही त्यस्ता सकारात्मक पक्ष पनि छन जसले गर्दा बसाइँ–सराईलाई न्यूनीकरण गर्न पनि सघाउन सक्छ । यद्यपी भौतिक संरचना, सूचना, संचार तथा स्वास्थ्य सेवा जस्ता कुराहरू उपलब्ध हुँदा अझ सामाजिक तवरमा प्राङ्गारिकको योगदान अझ राम्रो हुन्छ ।
आर्थिक बिशेषता
- प्राङ्गारिक कृषिको आधार भनेकै स्वस्थ जमिन तथा वरपरको जैविक श्रोत–जीवाष्म हो। यसको सम्भावना ग्रामीण क्षेत्रमा नै बढी छ। माथि उल्लेख भए मुताबिकको भौतिक पूर्वाधार, सूचना तथा संचारजस्ता आधारभूत सुविधा प्राप्त हुने हो भने जनसंख्याको एक हिस्सा ग्रामिण क्षेत्र तर्फ जान सक्छ जसबाट ग्रामीण क्षेत्रमा एक किसिमको जीवन संचार हुन्छ, बसाइँ–सराईलाई न्युनीकरण गर्छ भने रोजगारी सिर्जना हुन गई आर्थिक रूपमा प्राङ्गारिक कृषि एक दिगो विकासको पाटो हुन सक्छ ।
- प्राङ्गारिक कृषि बहुबालीमा आधारित प्रणाली भएकोले प्रति इकाई उत्पादन, त्यसको गुणस्तर, हरेक उपजको मुल्य–श्रृंखला अनुरूप विश्लेषण गर्यो भने प्राङ्गारिक कृषि आर्थिक रूपमा पनि टिकाउ छ भन्ने प्रमाणित हुन्छ ।
- नेपालका किसान अधिकांश रूपमा साना–किसान भएको र मिश्रित खेती–प्रणालीमा बढी अनुभवी भएको हुँदा प्राङ्गारिक कृषि आर्थिक रूपमा पनि बढी टिकाउ हुन सक्छ ।
- विषाक्त पदार्थको खरिदबाट बाहिरिने आर्थिक श्रोतलाई प्राङ्गारिक कृषिले धेरै हदसम्म न्यूनीकरण गराउन सक्छ ।
- जैविक सामग्रीका कारण स्थापित हुने जैविक विविधता, माटोभित्र हुने सुक्ष्म जीवाणुको गतिविधि र यो सबै उपलब्धिको आर्थिक पाटो अनुसन्धानको विषय हो र अनुमान भने सहजै लगाउन सकिन्छ कि यो सबै प्रकृयाले प्राङ्गारिक कृषिको आर्थिक विशेषता अझ स्पष्ट गर्न सक्छ ।
- परम्परागत सीप, प्रविधिको समेत प्राङ्गारिक कृषिमा प्रयोग हुने भएकाले ग्रामीण क्षेत्रले विशेष रूपमा यो पद्धतिबाट बढी फाइदा लिन सक्छ ।
- प्राङ्गारिक कृषिसँगै विकास हुने अरू क्षेत्र (पर्यटन, शिक्षा, वाणिज्य, स्थानीय उपज, खाद्य सुरक्षा)को योगदानले पनि प्राङ्गारिक कृषिको प्रत्यक्ष तथा अप्रत्यक्ष आर्थिक बिशेषता अझ बढी स्पष्ट हुन्छ ।
प्रतिक्रिया