शुक्रबार, चैत १६, २०८०

हिमाल सफाईबाट ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन

नेपालखोज २०८० जेठ ११ गते १९:४७

काठमाडौं । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहर सङ्कलन गरिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफा हिमाल अभियान २०२३ मा ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

हालसम्म अन्नपूर्ण हिमालबाट तीन हजार पाँच सय ६७ किलो, बरुञ्चे हिमालबाट १८ हजार पाँच सय २० किलो र सगरमाथा तथा ल्होत्सेबाट १३ हजार छ सय २१ किलो गरी जम्मा ३५ हजार सात सय आठ किलो फोहर सङ्कलन भइसकेको निर्देशनालयले जानकारी दिएको छ ।

सगरमाथा र ल्होत्से हिमाल सफाईका लागि सगरमाथाको आधार शिविरमा तैनाथ नेपाली सेनाको टोली सफाइ कार्य सम्पन्न गरी फिर्ता हुने क्रममा रहेको पनि नेपाली सेनाले जानकारी दिएको छ । विश्व वातावरण दिवसमा काठमाडौँमा औपचारिक कार्यक्रमको आयोजना गरेर अभियानको समापन गरिनेछ ।

सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा र ल्होत्से हिमाल सफाइ तथा आरोहणका सिलसिलामा अस्वस्थ भई उपचाररत नेपाली सेनाका चार जनालाई थप उपचारको लागि भारत लगिएको छ । अभियानका क्रममा दुई शेर्पा सहयोगीको भने निधन भएको छ ।

प्रतिक्रिया