बाँचुञ्जेल कैद सजायको माग गर्दै निराका हत्या आरोपी विनोदविरुद्ध मुद्दा दर्ता

काठमाडौं । कपन सरस्वतीनगरकी निरा आचार्यको हत्या आरोपी झापाका विनोद विश्वकर्माविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा मुलुकी अपराध संहिताको दफा ४१ (क) बमोजिम सजाय माग गरिएको छ । उक्त दफामा क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको कसुरका कसुरदारलाई जिवित रहेसम्म कैद गरिने उल्लेख छ ।
विनोदले लुटपाटको उद्देश्यले भाँडा पसलभित्र पसेर सञ्चालिका निरा आचार्यको हत्या गरेको अभियोग पत्रमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा निराका शरिरका विभिन्न भागमा २० भन्दा बढी चोट देखिएको थियो ।
यो प्रकरणमा प्रतिवादी बनाइएका २३ वर्षीय प्रदीप गदाइलीविरुद्ध ५ वर्षसम्म कैद वा ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको माग गरिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २८७ बमोजिम उनीविरुद्ध सजाय माग गरिएको हो ।
अनुसन्धानका क्रममा विनोदले लुटेको निराको सिक्री प्रदीपको सुन पसलमा राखेर ५५ हजार रूपैयाँ लिएको पाइएको थियो ।
प्रतिक्रिया