बिहीबार, वैशाख १३, २०८१

टेलिकमले सुरु गर्यो कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा ‘एनटी फाइबर’

नेपालखोज २०८० जेठ १२ गते १८:३०

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । गत २०८० जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ गरिएको टेलिकमले जानकारी दिएको छ ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गरेका हुन ।

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् ।

यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ ।

फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिन्छ । यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ ।

एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ ।

प्रतिक्रिया