मंगलबार, वैशाख ११, २०८१

आलेख : पर्यटनमा बुटवलको छलाङ

नेपालखोज २०८० जेठ १३ गते ८:००

रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित आधुनिक सिङ्गो बुटवलभित्र पुरानो बटौली बजार जीवितै छ । साँघुरा गल्लीसहितको करिब छ सय वर्ष पुरानो यो बजार अहिले सुनसान प्रायः छ । यद्यपि ऐतिहासिक महत्व बोकेको यो बजारलाई व्यवस्थित र पर्यटकीय गन्तब्य बनाउन सरकारी र निजी क्षेत्रले विभिन्न प्रयास भने गरेकै छन् ।

नेपालीले अङ्ग्रेजसँगको युद्ध जितेको जितगढी किल्लासँग जोडिएको यो ऐतिहासिक बटौली बजारको शिरमा नुवाकोटगढी किल्ला छ । किल्लाको नजिकै ऐतिहासिक भैरव मन्दिर पनि छ । बुद्धकालीन सभ्यतासँग जोडिएको नुवाकोट गढीको नजिकै राजा शुद्धोधनका गुरु ऋषि कालदेवल (आशुतोष) को ध्यान केन्द्र थियो भन्ने मान्यता छ । तिनाउ नदीको पश्चिमी किनारामा रहेको इतिहास, संस्कृति, सभ्यता र पुरातत्वसमेत जोडिएको बटौली र यसको शिरमा रहेको नुवाकोट गढीको एकीकृत विकास गर्नुपर्ने धारणा एकथरीको छ ।

बटौली र नुवाकोटगढीको एकीकृत विकास र यसको पर्यटकीय महत्व बुझेका यहाँका पुराना व्यवसायीले बटौली नुवाकोटगढी केबलकार सञ्चालनको तयारी थालेका छन् । तिनाउ नदीको पूर्वी किनारामा हुर्किंदै गरेको आधुनिक बुटवल वा पुरानो खस्यौली बजार गुल्जार हुँदैछ । फराकिला सडक, अग्ला भवन, व्यवस्थित सहर र बस्तीसहित बुटवलले पश्चिम नेपालको सुविधासम्पन्न ब्यस्त बजारको पहिचान पाएको छ । मुलुकको मध्यभागमा रहेको र सुनौली नाकासँग नजिक रहेका कारण बुटवलमा बसाई सरेर आउनेको घुइँचो लाग्दैछ ।

बुटवलदेखि भैरहवासम्म व्यवस्थित र सुविधासम्पन्न सहरको विकास भइसकेको छ । पाल्पा, पोखरा, मुक्तिनाथ र ढोरपाटनजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यतर्फ जाने प्रवेशद्वारका रुपमा रहेको आधुनिक बुटवलको शीरमा बसन्तपुर नामक जैविक विविधतायुक्त चुचुरो छ । पारी पट्टीको नुवाकोटगढी भन्दा उच्च भागमा रहेको यो शिखरमा पनि पुरानो सानो गाउँ छ । बुटवलको उष्ण हावापानीले हैरान भएका स्थानीय र घुम्न आउने पर्यटकलाई केन्द्रित गरी व्यवसायीले यहाँ पनि केबलकार सञ्चालनको तयारी थालेका छन् । ऐतिहासिक बजार बटौलीको विरासत तथा आधुनिक र विकसित सहर बुटवलको भव्यतालाई बेच्न यहांँका दुई ठूला कम्पनीले अलगअलग केबलकार सञ्चालनको अन्तिम तयारी गरिरहेका छन् । केबलकार सञ्चालनसँगै भारतीय पर्यटकको आकर्षण बढ्ने अनुमान गर्दै ठूलाठूला होटेल तथा रेष्टुरन्ट खुलिरहेका छन् ।

बटौली बजार धेरै पुरानो भए पनि २०१६ फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखियो । पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल–खस्यौली नगर पञ्चायत भन्न थालिएको हो । इतिहासका अध्येता देवेन्द्रराज शाक्यकाअनुसार छ सय वर्ष पुरानो बटौलीमा सेनवंशीय राजाले बस्ती बसालेका थिए । विगतमा अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली बजार । पछि वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले । खस्यौलीमा पूर्वाधार थपिँदै गएपछि बजारले बुटवल सहरको रुप लियो । बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो । विसं २०४६ पछि बुटवल नगरपालिका उल्लेख भयो । विसं २०७१ मङ्सिरमा साविक सेमलार र मोतीपुर गाविसलाई समेटेर उपमहानगरपालिकामा स्तरोन्नति भएको हो । अहिले यो पश्चिम नेपालकै प्रमुख सहर हो ।

पछिल्लो समय पूर्वाधारयुक्त सहरका रुपमा स्थापित भएको छ, बुटवल । छ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनीस्थलजस्ता राष्ट्रिय स्तरका संरचना रहेको बुटवलमा केही दिनमै लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार एकसाथ सञ्चालनको तयारीमा छन् । योसँगै पूर्वाधार र पर्यटनको विकासमा बुटवलले छलाङ मारेको छ । लुम्बिनी केबलकारको विसं २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए भने सिद्धार्थ केबलकारको तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फागुन ९ गते शिलान्यास गरेका थिए । लुम्बिनी केबलकारका व्यवस्थापक गोकुल साउदका अनुसार बुटवल र पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माणको काम करिब सम्पन्न भएको छ ।

तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर निर्माण गरिएको लुम्बिनी केबलकारको अहिले प्राविधिक परीक्षणको काम भइरहेको छ । यही महिनाभित्रै वसन्तपुरमा निर्माण गरिएको कामाक्षा देवी मन्दिरमा महायज्ञ सञ्चालन गरिने र महायज्ञकैबीचमा औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । बमघाटमा आधार स्टेसन रहेको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा रहेको छ । यही जेठ १५ गतेदेखि नियमित सञ्चालन ल्याउन प्राविधिक परीक्षणको काम भइरहेको केबलकारका व्यवस्थापक साउँद बताउँछन् ।

उनका अनुसार २५ वटा गोन्डुला (बाकस) रहने लुम्बिनी केबलकारमा प्रत्येक बाकसमा आठ यात्रु सवार गर्न सक्नेछन् । प्रतिघन्टा छसय जना यात्रु ओहोरदोहोर गर्नसक्ने बताइएको छ । अहिले वसन्तपुर डाँडामा होटेल तथा रिसोर्टको काम भइरहेको छ भने जीर्ण रहेको वसन्तपुरको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ । त्यस्तै चिल्ड्रेन पार्क, रेस्टुरेस्ट, भ्यूप्वाइन्टसहितका पूर्वाधार बनिरहेका छन् ।

एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित केबलकार शिलान्यास गरे पनि कोरोना महामारी र रूख कटानमा ढिलाइ हुँदा अवधि लम्बिएको हो । बुटवल बमघाटदेखि पाल्पा वसन्तपुरसम्मको तीन किलोमिटर क्षेत्रमा निर्माण भइरहेको केबलकारले बुटवल–३ को चुरे सामुदायिक वनसमेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ–३ को चिउरीडाँडा न्याउली सामुदायिक वनसमेतको ३.११ हेक्टर गरी ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ ।

केबलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउनेगरी सरकारले स्वीकृति दिएको छ । बुटवलबाट झण्डै साढे दुई किलोमिटरको केबलकारबाट १० मिनेटमा वसन्तपुर पुगिन्छ । बुटवल भैरहवाको तुलनामा वसन्तपुरको तापक्रम कम हुने भएकाले गर्मी छल्न र प्राकृति सौन्दर्य अवलोकन गर्न अन्तरिक पर्यटक र भारतीय पर्यटक आउने व्यवस्थापक साउदको विश्वास छ । यो परियोजनाअन्तर्गत केबलकार सञ्चालनका लागि रु डेढ अर्ब बराबर लगानी भएको छ भने रिसोर्टलगायत अन्य संरचना निर्माणमा पनि सोही बराबरको लागत लाग्ने अनुमान रहेको साउँद बताउनुहुन्छ । यता बुटवलको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि–मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर–पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबलकार लिमिमटेड पनि सञ्चालनको तयारीमा छ । सरकारले यो केबलकार परियोजनाभित्र पर्ने ६.२९ हेक्टर वन क्षेत्र ३० वर्षका लागि भोगाधिकारको स्वीकृति दिएको छ ।

विसं २०६८ देखि नै परियोजना सुरु भए पनि कोरोना महामारी र रूख कटानमा भएको ढिलाइले समयमा सञ्चालन गर्न नसके पनि आगामी असोजसम्म सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । पाँचतारे होटेल, पार्क र रिसोर्टसहित निर्माण भइरहेका यो केबलकारमा निजी क्षेत्र र समुदायको गरी रु एक अर्ब लगानी रहेको कम्पनीका अध्यक्ष राजेन्द्रसिंह गुरुङ बताउँछन् । सुरुमा झण्डै रु दुई अर्ब लगानी गर्ने मनसायले यस क्षेत्रका व्यवसायीले परियोजनाको अवधारणा बनाए पनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरेर कम लागतमा काम भइरहेको अध्यक्ष गुरुङको भनाइ छ ।

यो केबलकारसँगै नुवाकोटमा कालभैरवको मन्दिर निर्माण, ठूलो बुद्धको मूर्ति, मणिमुकुन्द सेन उद्यान, सांस्कृतिक सङ्ग्रहालय, ऋषि कालदेवलको मन्दिर निर्माणको काम भइरहेको छ । नुवाकोटमै भ्यु–टावर निर्माण गरिएको छ भने बालाजी मन्दिरको शिलान्यास गरिएको छ । भारतको बालाजी मन्दिरका गुरु बोलाएर यो मन्दिरको शिलान्यास गरी काम अघि बढाइएको छ । टप स्टेसन पाल्पाको नुवाकोट बनाएको सिद्धार्थ केबलकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर यो क्षेत्रमा संरचना निर्माण गरेको छ ।

‘हामीले बुद्ध जन्मिँदा सात पाइला टेक्नुभएको झल्को दिन छ पाइला केबलकारको बेस स्टेसन देउरालीमा र सातौँ पाइला नुवाकोटमा बनाउने तयारी गरेका छौँ । यस ठाउँमा गौतमुद्धका पिता शुद्धोधनका गुरु कालदेवलले तपस्या गर्नुभएको थियो’, अध्यक्ष गुरुङ भन्छन् । शिखर देउरालीमा रहेको बेस स्टेसनमा अहिले विभिन्न पूर्वाधार निर्माणको काम अन्तिम चरणमा छ । नुवाकोट डाँडामा रहेको टप स्टेसनमा सात मिनेटमा पुग्न सकिने १.९४ किमी लम्बाइको केबलकारमा एउटा गोन्डुलामा आठ यात्रु सवार गर्न मिल्ने २५ वटा गोन्डुला हुनेछन् ।

नियमितरूपमा केबलकार सञ्चालनमा आउँदा प्रतिघण्टा पाँच सय व्यक्तिलाई ओहोरदोहोर गराउन सकिने गरी संरचना निर्माण भइरहेको इन्जिनियर सृष्टि गुरुङ बताउँछन् । ‘हामीले भूकम्प प्रतिरोधी संरचना बनाएका’, उनी भन्छन् । बुटवल आर्थिक तथा व्यापारिक केन्द्रसँगै ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थल पनि हो । केबलकारको बेस स्टेसन आसपास अङ्ग्रेजसँगको युद्धमा नेपाली सेनाले विजय प्राप्त गरेको जितगढी किल्ला, राजा मणिमुकुन्द सेनको शीतकालीन दरबार रहेको मणिमुकुन्द सेन उद्यान, मानव पुर्खा रामापिथेकसको बंगारा भेटिएको स्थललगायत छन् । त्यसैगरी केबलकारको टपस्टेसन रहेको नुवाकोटमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा जस्ता ऐतिहासिक सम्पदा छन् ।

यो केबलकार सञ्चालनसँगै बुटवलको पर्यटनले फड्को मार्ने विश्वासका साथ व्यवसायीले यो क्षेत्रमा केबलकार सुरु गरेका हुन् । तर, एउटा परियोजना नसकिँदै एउटै नगरपालिकामा अर्को उस्तै प्रकृतिको परियोजना सुरु हुनाले सफल हुने नहुनेमा भने प्रश्न चिन्ह खडा भएको कतिपय व्यवसायीको विश्लेषण छ । केही वर्षअघिसम्म व्यापार र रोजगारिका लागि पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत, अर्घाखाँची आदिबाट मानिस बसाइसराई गरी यहाँ आउँथे, तर विसं २०४० पछि आर्थिक, शैक्षिक र पर्यटनको केन्द्रका रुपमा बुटवलले पहिचान बनाएको छ । यहाँ महत्वपूर्ण धार्मिकस्थल सिद्धबाबा, गणेश मन्दिर, नारायणस्थान, राधाकृष्ण मन्दिर, नीलकण्ठ बाबा धाम, कालिका मन्दिर, राममन्दिर, बाघभैरव भुवनेश्वरी मन्दिर, बौद्ध गुम्बा, पद्म चैत्य र विहार छन् ।

यहाँका ऐतिहासिकस्थलमा रामपिथेकस अवशेषस्थल, जितगढी किल्ला, मणिमुकुन्द सेन दरबार र पर्यटकीयस्थलमा मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा धाम छन् । पर्यटकलाई बुटवल घुम्न जानैपर्छ भन्ने बनाउन सरकारले सिद्धबाबा माथिको गड्डाहाइटदेखि नुवाकोटसम्म अर्को केबलकार निर्माण गर्नुपर्ने नुवाकोट विकास समितिका अध्यक्ष तथा व्यवसायी माधव नेपालको सुझाव छ । सरकार र निजी क्षेत्र मिलेर यी क्षेत्रलाई समेत उजार गर्नसके पर्यटकको बसाई अवधि पनि लम्ब्याउन सकिने र पर्यटन प्रवद्र्धन हुने देखिन्छ । rss

प्रतिक्रिया