शुक्रबार, वैशाख ७, २०८१

स्थानीय जनप्रतिनिधि र नेतृत्व सीप

भगवान खनाल २०८० जेठ १३ गते ८:२२
भगवान खनाल

२०७९—२०८४ कार्यकाल रहेका सालका स्थानीय जनप्रतिनिधिको पहिलो वर्ष बितिसकेको छ । उनीहरूले एक वर्षे अवधिमा स्थानीय शासनको बारेमा सकारात्मक अनुभव हासिल गरेका छन् ।

दोहोरिएका जनप्रतिनिधिका भने अनुभव पनि दोहोरो नै भएको छ। एक वर्षको नेतृत्वदायी भूमिका निर्वाह गर्दा उनीहरूले ज्ञान, सीप र क्षमताअनुसार कार्यसम्पादन गरेका छन् । पदीय जिम्मेवारी निर्वाह गर्दै नेतृत्व क्षमताको दायरा पनि विस्तारित गर्दै लगेका छन् ।

मानवीय जीवनमा नेतृत्व सीप आवश्यक छ। हरेक विधा र पेसा सम्बद्ध व्यक्तिलाई व्यावसायिक र पेसागत कर्ममा सफलता हासिल गर्न नेतृत्व सीप अपरिहार्य छ । नेतृत्व जन्मजात नभई आर्जित गुण भएकाले जीवनमा सफलता प्राप्त गर्न नेतृत्व सीप आवश्यक परेको हो ।

अतः स्थानीय जनप्रतिनिधिलाई काममा सफलता प्राप्त गर्न नेतृत्व सीप चाहिन्छ। जनतालाई नचाहेको विकास लाद्ने, थुपार्ने प्रयास गरेमा असफल बनिन्छ । जनताको मनमा नेतृत्व सीप पस्न सकेमा गर्न नसकिने काम पनि गर्न सकिन्छ । जनताका मूल्य, मान्यता, संस्कार आदिलाई ध्यान दिनु पनि नेतृत्व सीपभित्र पर्दछ ।

स्थानीय तहका जनप्रतिनिधिको सञ्चालन भइरहेको नेतृत्व सीपसम्बन्धी तालिमका क्रममा सहजकर्ताले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भएको मह सिकारसम्बन्धी डकुमेन्ट्री देखाए । उक्त सामग्री हेरेपछि सहभागीलाई तिनले देखेका, अनुभव गरेका पक्षहरू भन्न लगाइयो । त्यहाँ कुखुराको भाले पूजा गरेको, काटेको मन नपरेको टिप्पणी गरिन् बागलुङ गलकोट नगरपालिकाकीले एक वडा सदस्यले ।

जनताको मूल्य, मान्यता र संस्कारलाई नेतृत्वले अपनत्व नलिने हो भने सफल हुन नसकिने सन्देश सहजकर्ताले दिन खोजे। तर टिप्पणीकर्ता वडा सदस्यको अनुहारले उनी खुसी बनेको देखिँदैनथ्यो । उक्त डकुमेन्ट्री देखाएर सहजकर्ताले विकासका काममा एकचित्त हुने, आपसमा भेला हुने, अपनत्व लिने कार्य गर्नुपर्छ भन्ने सन्देश दिन चाहेका थिए । सामूहिक रूपमा काम गरेमा अप्ठेरा काम पनि सहजै उद्देश्यमा पुग्न सकिन्छ भन्ने सन्देशसमेत उक्त डकुमेन्ट्रीको थियो ।

मह सिकारीले परम्परागत घरेलु सामग्रीका साथ स्थानीय स्रोतको परिचालन गरी मह काढेका थिए । त्यहाँ कुनै जापानी, चिनियाँ, कोरियन प्रविधिको प्रयोग गरिएको थिएन। मह काढ्ने परियोजना सफल बनाउन आत्मविश्वासको लागि वनदेवीको पूजा गरिएको थियो। आगो फुकिएको थियो ।

वनमा भएका लहराको प्रयोग भएको थियो । आगो फुक्नुको अर्थ मौरीले नटोकून् भन्न खोजिएको थियो । यदि मानिसलाई मौरीले टोकेमा टोक्ने मौरी पनि मर्दा रहेछन्। यसैले मौरी बचुन् भन्ने उद्देश्य थियो। अहो १ कति वैज्ञानिक तरिका ।

त्यहाँ एक जना मानिसले निर्देशन दिएका थिए । सुरक्षा, योजना, मह काढ्ने, सङ्कलन गर्ने सबै जिम्मेवारी बाँडफाँट थिए । काढ्नले पछि हात चाटेर गुलियो रसास्वादन गरेका थिए । अङ्ग्रेजीमा अर्थ टी– टुगेदर, ई– एभ्रिवान, ए– अचिभ र एमको अर्थ मोर भन्ने हुन्छ। यसैले समूह कार्य, सहकार्य भएमा सफल बनिन्छ भन्ने सन्देश डकुमेन्टीले बोलेको थियो ।

स्थानीय तहमा सर्वसुलभ रूपमा उपलब्ध प्रविधि, तरिकाको प्रयोग गर्न जानेमा नेतृत्व सफल हुन्छ जसरी मह काढ्नेले हात चाटे, मह काढ्न सफल भए । यसैले कुशल, असल र नतिजामुखी नेतृत्व प्रदान गर्न आवश्यक छ । कर्णालीको कुनै खोला, नदीमा सरकारले पुल बनायो तर जनता भने उक्त पुलबाट नतरेर आफैँले हालेको फड्केबाट जोखिमै मोलेर भए पनि वारपार गर्न छोडेनन् ।

किन रु सबै दङ्ग परे रु सञ्चारमाध्यमले समाचार पनि प्रकाशन–प्रसारण गरे । त्यहाँ भारी बोक्दा तेर्सो पारेर बोक्ने प्रचलन रहेछ । तर उक्त पुल चाहिँ तेस्रो भारी बोक्दा साँघुरो हुने गरी बनेको रहेछ । यसैले सरकारले योजनाको विस्तृत परियोजना तयार गर्दा स्थानीय मूल्य, मान्यतालाई पनि आकलन गर्न आवश्यक छ भन्ने उक्त पुलको उदाहरण हो ।

स्थानीय नेतृत्वले स्थानीय जनताको मूल्य, मान्यता, संस्कार आदिलाई अङ्गीकार गर्दै विकासका काममा अघि बढेमा सफल बनिन्छ भन्नेमा सहजकर्ताले प्रस्टोक्ति दिए । व्यावसायिक कामका लागि जाति, समुदाय बाधक हुँदै होइन ।

कुनै स्थानीय तहले धराने कालोबंगुर र सुँगुरको पाठा पाठी वितरणको योजना ल्यायो। पाठा पाठी किनेर ल्याइयो, तामझामका साथ वितरण पनि भयो । दिनेहरू नयाँ काम गरेँ, जनताको जीविकोपार्जनमा सहयोग गरेँ भन्नेमा मखलेल भए । तर अलिपछि उक्त योजना बिचैमा तुहिएछ । किन तुहियो भनेर हेर्दै जाँदा क्षेत्री–ब्राह्मण समुदायमा ती पाठा पाठी वितरण भएको रहेछ । स्थानीयहरू आकर्षित हुन सकेनछन् ।

बागलुङको एक स्थानीय तहले १२ कक्षा उत्तीर्ण गरेका, स्नातक अध्ययन गर्दै गरेका युवायुवतीलाई कृषिसम्बन्धी तालिम दिएछ । तालिमपछि प्लास्टिकको टनेल पनि वितरण गरेछ । टनेल लिएर गए पनि प्रयोगमा आउँदै नआएपछि अनुगमनमा पत्ता लाग्यो कि ती युवायुवतीको चाहना त लोकसेवा उत्तीर्ण गरी सरकारी जागिरमा प्रवेश गर्ने रहेछ ।

नेतृत्वका लागि आफैँमा पनि समर्पित हुने गुण चाहिन्छ । पाँच, दश, वर्षमा वडा, नगर, गाउँ कस्तो बनाउने भन्ने नेतृत्व सीप चाहिन्छ । लक्ष्यमा पुग्न एक्लै हिँडेर पुग्न सकिँदैन । मह काढ्न समूहमा कार्य गरेझैँ वडा, बस्ती, संस्थागत विकास गर्न समूह चाहिन्छ ।

वडावासी समूह हुन्, वडावासीलाई प्रोत्साहन गर्ने खालका कार्य गर्न सकेमा मरेर गए पनि बाँचिन्छ । जस्तै ग्रामीण समाजमा अझै पनि यो चौतारा, यसले बनाएको भनेर वर्षौँसम्म पनि गुणगान गएको पाइन्छ । यसर्थ वडाका जनप्रतिनिधिले पनि मरेर गए पनि बाँच्ने, पछिसम्म समाजले सम्झने काम गर्न सक्नुपर्छ ।

सडकमा माइलस्टोन भएजस्तै वडाका प्रतिनिधिले पनि माइलस्टोन बाँधेर काम गर्न सक्नुपर्छ । लक्ष्य निर्धारण गर्ने, सामूहिक कार्यलाई प्रोत्साहन दिने, सङ्गठनलाई मार्गदर्शन दिने, संस्थाको कियाकलापको समन्वय गर्ने, सङ्गठनात्मक प्रतिनिधित्व गर्ने आदि हुन् । स्थानीय ग्रामीण जनताले साना साना काममा पनि जनप्रतिनिधिको साथ, सहयोग चाहिरहेका हुन्छन् ।

मुस्कानसहितको सेवा सुविधा प्रवाह गर्न जनप्रतिनिधिले ध्यान दिन आवश्यक छ । मतदाता, बासिन्दा वा जनतालाई नेताले पहिलै नमस्ते गर्दा उनीहरूले पनि झुकेर नमस्ते गर्छन् । जनताले नियमभन्दा बाहिरका काम गर्न जानअन्जानमा चाहे भने पनि हुँदैन, हुँदै हुँदैन कड्केर भन्नुभन्दा नीति, नियमले गर्न सकिँदैन भन्दा उनीहरू खुसी हुन्छन् ।

नेतृत्व नतिजामा आधारित हुनुपर्दछ । नेतृत्वले कहिलेकाहीँ शीघ्र निर्णय लिन सक्नुपर्छ । समूह कार्य सीप, सञ्चार सीप, व्यवस्थापकीय सीप चाहिन्छ । आफू पनि सँगसँगै गएमा आवश्यकतामुखी भएर अगाडि बढेमा सफल भइन्छ । बुद्धिमत्तापूर्वक शक्तिको प्रयोग गर्नु नै नेतृत्व सीप हो भन्ने विस्फोटन चर्चिलको भनाइ चर्चित छ ।

कुनै काम हुँदैन भने पनि म सोचेर, बुझेर भन्छु भन्दा राम्रो हुन्छ । फेरि भेटेर उसलाई भेटेर, कानुनी कुरा दर्साएर, देखाएर काम गर्न नसकिने रहेछ भनेर प्रमाणित गरिदिएमा माग गर्ने मानिस पनि खुसी हुन्छ ।

निर्वाचनमा उसैले मत दिएर जिताएको भए पनि बुद्धिमत्तापूर्वक आफूले पाएको जिम्मेवारी सर्वमान्य तवरले अधिकार प्रयोग गर्नु नै विस्फोटन चर्चिलको उक्त भनाइको सार हो । हो, समाजमा विविधता छ तर विकास साझा हो। सडक, पानी, सिँचाइ, पूर्वाधार विकास साझा हो । मतदाता र स्थानीयका लागि मात्रै होइन, अन्य आगन्तुकका लागि पनि विकास साझा हो ।

प्रतिक्रिया