शुक्रबार, चैत १६, २०८०

आजको दिनको इतिहास !

सुनील उलक २०८० जेठ १३ गते ८:३०

हुन त १३ लाई पश्चिमाहरुले खासै राम्रो मान्दैनन् । १३ गते (तारिख)का दिन महत्त्वपूर्ण कार्य गर्दैनन्, १३ नं को घरमा बस्न खोज्दैनन् । १३ लाई अपसगुन मान्दछन् । शुक्रबार १३ तारिखका दिन येशुलाई सुली चढाएको दिन हुँदा १३ तारिखका दिनलाई अपशगुनको रुपमा राम्रा काम गर्न खोज्दैनन् । यस प्रकारको डरलाई triskaidekaphobia भन्ने गरिन्छ । पूर्वी एशियाका जापान, चीन र कोरियामा भने ४ लाई राम्रो मान्दैनन् ।

नेपालमा केहीले ९ लाई राम्रो ठान्दैनन् । ६४ वर्ष अगाडि आजकै दिन अर्थात जेठ १३ गतेका दिन नेपाली कांग्रेसका वीपी कोइरालाले प्रधानमन्त्रीको रुपमा शपथ लिएका थिए । नेपालमा पहिलो पटक जनताले चुनेर पठाएको जनताको सरकार बनेको थियो । त्यस सरकारका प्रमुखका रुपमा नेपाली कांग्रेसका बीपी कोइरालाले प्रधानमन्त्रीको पदभार सम्हालेका थिए । नेपालमा १३ लाई अपशगुन मान्ने गरिदैन । तर खै के भन्ने १३ गते प्रधानमन्त्री बनेका वीपी लामो समय प्रधानमन्त्री बन्नै पाएनन् । १८ महिना १९ दिन मात्रै सरकार चलाउन पाए । २०१७ पुस १ गते राजा महेन्द्रले वीपी सरकारलाई अपदस्थ गरि शासन सत्ता आफ्नो हातमा लिए ।

त्यसै त मिनपचासको समय मंसिरको अन्तिम रातमा हल्का पानी परेको हुँदा चिसो एकदम बढेको थियो । पुसको पहिलो दिन घामको तातोको आसमा उठेका उपत्यकावासीलाई डम्म कालो बादलले ढाकेको बिहानीले स्वागत गरेको थियो । हुस्सुले २०-२५ मिटर टाढा के भइरहेछ भन्ने ठम्याउन नै गाह्राे थियो । सेनाको चहलपहलले केही हुदैछ भन्ने आशंका धेरैमा उब्जेको थियो । प्रधानमन्त्री फेरिन सक्ने आकलन धेरैको भए पनि कु नै हुन सक्छ भन्ने आशंका थोरैलाई मात्रै थियो ।

सबै कुराको तैयारी राजा स्वयंले गोप्य रुपमा गरेको हुँदा राजाका सहयोगीका रुपमा रहेका तुलसी गिरीलाई पनि के हुनेछ भन्ने निर्क्यौल थिएन । नेपाली सेना र नेपाल प्रहरी प्रमुखलाई पनि जानकारी गराइएको थिएन । सेना प्रमुख रहेका नीरशम्शेरको असहमति पछि दरवार भित्र रहेको सेनाका जर्नेल समरबहादुर कुँवरलाई कमाण्ड दिइएको थियो । वीपीले शपथ खाएको १३ महिना १९ दिनमा प्रधानमन्त्री पदबाट अपदस्थ गराई सिंहदरबार भित्र रहेको बिलियर्ड हलमा नजरबन्दमा राखियो ।

प्रतिक्रिया