बिहीबार, वैशाख १३, २०८१

स्वयम्भूको पोखरी, जहाँ सिक्का चढाएर मनोकामना पूरा हुने विश्वास गरिन्छ

नेपालखोज २०८० जेठ १४ गते ५:३९

काठमाडाैं । बौद्ध धर्मालम्वीको विशेष मानिने बौद्ध स्तुप अर्थात् स्वयम्भू काठमाडौँ उपत्यकाको पश्चिमी भेगमा पर्छ। यसलाई अर्को भाषमा महाचैत्य पनि भनिन्छ । उहिले उपत्यकामा पानी भरिएको बेलामा यहाँ विपस्वी बुद्ध आई तीनपटक वरिपरीको पहाड घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए । त्यसपछि वैशाख पूर्णिमाका दिन दक्षिण फर्केर कमलको बिउ मन्त्र गरी दहमा रोपेका थिए । अर्को सालको वैशाख पूर्णिमाकै दिन कमल उम्रेको र त्यसमा पञ्चरश्मिसहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ ।

नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र पछि यसै शब्दलाई स्वयम्भू भनिएको पाइन्छ। पुराणअनुसार, पहिले उपत्यका ठूलो ताल थियो, जसबाट कमल फूलको उत्पत्ति भएको थियो । त्यसपछि यसको नाम स्वयम्भू रहन गएको पाइन्छ । स्वयम्भूको अर्थ हुन्छ, स्वयं उत्पत्ति भएको भूमि । स्वयम्भू महाचैत्यलाई पर्यटकहरू मंकी टेम्पल भनेर पनि सम्बोधन गर्छन् । किनकि मन्दिरको उत्तर–दक्षिण भेगतिर बाँदरको बथान हुन्छ। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू मन्दिरको महत्व देश र विदेशमा पनि उत्तिकै छ । यही महत्वका कारण दैनिक हजारौँको संख्यामा मानिसहरू घुम्न स्वयम्भू जाने गर्छन्। उपत्यकाकै अग्लो ठाँउमा रहेका कारण स्वयम्भू डाँडाबाट उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ ।

स्वयम्भू मन्दिरको गेटभित्र छिर्नासाथ एउटा पोखरी छ। पोखरीको बीचमा गौतम बुद्धको मूर्ति छ। शान्तिको प्रतीक बुद्धको खुट्टामुनि एउटा भाँडा राखिएको छ। उक्त भाँडोलाई नेवारी भाषामा गुलपाक भन्ने चलन छ। सामान्यतया त्यसलाई टोकरी पनि भनिन्छ। सिक्का ढोगेर पोखरीछेउको बार बाहिरबाट त्यस टोकरीमा छिराए मनले चिताएको पूरा हुने विश्वास आममानिसमा छ। कतिपयले मनको शान्ति हुन्छ भन्ने विश्वास गरेर पनि बुद्धको खुट्टामा सिक्का चढाउने बताउँछन् ।

दैनिक पोखरी घुम्न आउने मानिसले ३ हजारदेखि ५÷६ हजारसम्म पैसा चढाउने गर्छन् । शनिबारको दिन भने धेरै संख्यामा स्वदेशी तथा विदेशी आउने हुदाँ यसरी चढाउने सिक्का १० हजार रुपैयाँसम्म पुग्ने गरेको सिक्का बेच्नेहरू बताउँछन् । पोखरीमा जम्मा भएको पैसा १५ दिनमा स्वयम्भू महासमितिले झिक्ने गर्दछ । सो रकमले दैनिक बिहान बाँदरलाई चना खुवाउने गरेको उनको भनाइ छ । INS

प्रतिक्रिया