६ सय आरोही पुगे सगरमाथाको चुचुरोमा, हिमाल आरोहणबाट ७६ करोड रोयल्टी संकलन

काठमाडौं । यो सिजनमा ६ सय जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । यससँगै वसन्तयामको आरोहण सकिएको छ । सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो ।
शनिवारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छैन । हिमाल आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ ।
सन् २०२२ मा ४७ हिमाल आरोहणबाट ५३ करोड ३५ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो । यस्तै, सन् २०२१ मा ४९ करोड रुपैयाँ संकलन भएको थियो । यस वर्ष हिमाल आरोहण गर्ने आरोहीको संख्या बढेसँगै रोयल्टी पनि बढेको विभागले जनाएको छ ।
कुल रोयल्टीमध्ये सर्वोच्च शिखर सगरमाथा आरोहण अनुमतिबाट मात्रै ६६ करोड ६४ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । यस वर्ष २८ हिमाल आरोहणका लागि ८० देशका ११ सय ७६ जनाले अनुमति लिएका थिए । त्यसमध्ये २ सय ७७ महिला र ८ सय ९९ पुरुष थिए ।
सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।
नेपालीले भने प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ तिरे पुग्छ । सगरमाथा आरोहणका लागि अनुमति लिनेहरु यो वर्ष ७० वर्ष यताकै धेरै भएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले बताए ।
प्रतिक्रिया