बिहीबार, वैशाख १३, २०८१

सिडेनको अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित

नेपालखोज २०८० जेठ १४ गते २०:४८

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्। सिडेनको सातौँ कार्यकारिणी समितिका लागि शनिबार सम्पन्न भएकाे मतगणनामा इन्जिनियर चेतनाथ पाण्डेलाई पराजित गर्दै केसी निर्वाचित भएका हुन्।

अध्यक्ष केसीले एक हजार छ सय १९ मत र पाण्डेले एक हजार ६२ मत प्राप्त गरेका निर्वाचन अधिकृत शुक्रराज पौडेलले जानकारी दिए । यस्तै, उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमनबहादुर खड्का, उपमहासचिवमा सुशील लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत निर्वाचित भए ।

यसैगरी, सदस्यमा उपेन्द्र महरान, राहुल मिश्र, जगदीश नेपाल, सन्दीप वाग्ले, नवीन बस्नेत, दीपक पौडेल, शेखरनाथ चापागाईं, सन्देश पन्त, अर्जुन बस्नेत, पद्मा अर्याल, अर्जुन रावल, मनोज वाग्ले र दुर्गा पन्थी विजयी भएको निर्वाचन अधिकृत पौडेलले बताए ।

नवनिर्वाचित अध्यक्ष केसीले सन् २०१० मा संयुक्त राज्य अमेरिकाको मानोआस्थित हवाई विश्वविद्यालयबाट सिभिल र पर्यावरण इञ्जिनियररिङमा स्नातकोत्तर गरेका छन् । उनी नेपाल एकीकृत अनुसन्धान तथा विकास प्रतिष्ठानको कार्यकारी निर्देशकसमेत हुन् ।

सन् २०१२ मा इन्जिनियर एन्ड प्लानर्स प्रालिको प्रबन्ध निर्देशक भएका उनले विश्व बैंकमा समेत काम गरिसकेका छन्। नेपाल इञ्जिनियरिङ कलेजमा प्राध्यापनसमेत गरेका उनले विभिन्न इन्जिनियर संस्थामा रहेर काम गरिसकेका छन्। सिडेनका संस्थापक नेता केसीले सन् २०१८ देखि २०२० सम्म केन्द्रीय उपाध्यक्ष भएर काम गरिसकेका छन्।

केसी नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् । सिडेनको सातौँ कार्यकारिणी समितिका लागि शनिबार सङ्घीय राजधानी काठमाडौंसहित सातै प्रदेशमा निर्वाचन भएको थियो ।

नवनिर्वाचित अध्यक्ष केसीले इन्जिनियरको हक, अधिकारका क्षेत्रमा काम गर्दै सिडेनलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्ने बताए। सिडेनको निर्वाचन प्रत्येक दुई वर्षमा हुँदै आएको छ ।

प्रतिक्रिया