शुक्रबार, वैशाख ७, २०८१

गणतन्त्र दिवस : सैनिक मञ्चमा विशेष समारोह आयोजना हुँदै

नेपालखोज २०८० जेठ १५ गते ६:४३

काठमाडौं । महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइने छ ।

विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो । तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो ।

विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्रलाई एउटा शासन प्रणालीमात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धतिका रूपमा लिने गरिएको छ ।

प्रतिक्रिया