शुक्रबार, वैशाख १४, २०८१

धौलागिरिका सात साहित्यकार पुरस्कृत

नेपालखोज २०८० जेठ १५ गते १९:०२

धौलागिरि क्षेत्रका सात साहित्यकार तथा सर्जक पुरस्कृत भएकाछन् । पर्वत साहित्य सङ्गमले आफ्नो मातहत रहेका विभिन्न विधाका सात पुरस्कारबाट सात जनालाई पुरस्कृत गरेको हो । साहित्य सङ्गमले कुश्मामा आज गणतन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको छ ।

धौलागिरि क्षेत्रभित्र जन्मेर साहित्य कला संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने सात जना सर्जकलाई साहित्य सङ्गममा स्थापित पर्वत साहित्य सङ्गम साहित्य पुरस्कार, मान पदम स्मृति साहित्य पुरस्कार, डिल्ली राधा साहित्य पुरस्कार, नमूना शिक्षा तथा साहित्य पुरस्कार, गोपीनन्द स्मृति साहित्य पुरस्कार, संस्कृति साहित्य पुरस्कार र कृष्ण उद्योग साहित्य पुरस्कार वितरण गरिएको सङ्गमका अध्यक्ष डीआर शर्माले जानकारी दिए ।

यस वर्षको पर्वत साहित्य सङ्गम साहित्य पुरस्कार पर्वतका साहित्यकार इन्द्रमान खत्रीलाई नगद रु १५ हजार दोसल्ला र सम्मान पत्र, नमूना शिक्षा तथा साहित्य पुरस्कार बागलुङका साहित्यकार यामबहादुर ढुङ्गाना केसीलाई नगद रु १० हजार दोसल्ला र सम्मानपत्र, डिल्ली राधा साहित्य पुरस्कार तथा सम्मान भूपी स्मृति थाक पुस्तकालय मुस्ताङलाई नगद रु १० हजार दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ ।

मान पदम स्मृति साहित्य पुरस्कार तथा सम्मान पर्वतका साहित्यकार गणेशकुमार जिसीलाई नगद रु १० हजार दोसल्ला र सम्मान पत्र, गोपीनन्द स्मृति साहित्य पुरस्कार पर्वतका साहित्यकार टुकनाथ रेग्मी वेलुरामलाई नगद रु १० हजार दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै कृष्ण उद्योग साहित्य पुरस्कार तथा सम्मान म्याग्दीका साहित्यकार गणनाथ पौडेललाई नगद रु १० हजार दोसल्ला र प्रमाणपत्र, संस्कृति साहित्य पुरस्कार तथा सम्मान पर्वतका स्वर्गीय गीतकार तथा कुशल सर्जक मानजी सुरागम मरणोपरान्त नगद रु १० हजार दोसल्ला र सम्मान पत्रसहित प्रदान गरिएको छ ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले साहित्य समाजको ऐना रहेको बताए । साहित्यको अनुराग मर्न नदिन पर्वत साहित्य सङ्गमलाई आग्रह गर्दै पछिल्लो समय प्रविधिको विकासले साहित्यको मर्म गुम्ने खतरासमेत रहेको बताए। जोशीले साहित्यको मूल मर्मलाई जोगाएर राख्नुपर्ने दायित्व हामी सबैको भएको बताए।

कार्यक्रममा पुरस्कृत साहित्यकार इन्द्रमान खत्री, गणनाथ शर्मा, गणेशबहादुर जिसी, टुकनाथ शर्मा बेलुराम, मुस्ताङका स्रेस्ता सुशीलबाबु थकालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

यसैबीच स्रस्टा गणेशबहादुर जिसीले आफूले प्राप्त गरेको पुरस्कार राशि रु १० हजारमा ४० हजार थप गरेर पर्वत साहित्य सङ्गम मातहत रहने गरी रु ५० हजार बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया