बिहीबार, वैशाख १३, २०८१

चारदिने भारत भ्रमणमा जाँदै प्रधानमन्त्री

नेपालखोज २०८० जेठ १७ गते ६:१२


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै छन् । उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रचण्ड आज भारत भ्रमणमा जान लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि आज भारत जान लागेका हुन् । भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री रहनेछन् ।

परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको र थप विषयमा छलफल जारी रहेको जानकारी दिए ।

यस्तै नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा भ्रमणका क्रममा छलफल हुनेछ । नेपालले भ्रमणका क्रममा दीर्घकालीनरूपमा बिजुली व्यापारको विषयलाई प्राथमिकताका साथ अगाडि सारेको छ ।

हरेक वर्ष नवीकरण गर्नुपर्ने र सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले त्यसमा प्रक्रियागत झन्झट रहँदै आएको छ । यसैगरी नेपालले बङ्गलादेशमा बिजुली व्यापारका लागि मार्ग प्रशस्त गर्नसमेत भारतलाई आग्रह गरिँदै आएको छ । बङ्गलादेशले तत्काल ५० मेगावाट बिजुली लैजाने सहमति गरिसकेको छ ।

भ्रमणका क्रममा हवाईमार्गको सुनिश्चितता विषयमा दुई देशका सरकार प्रमुखले छलफल गरेर निष्कर्षमा पुर्याउने तयारी गरिएको छ । प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्नेछन् । प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधिमण्डलका अलावा उद्योगी व्यवसायी र सञ्चारकर्मी पनि भ्रमण दलमा सहभागी छन् । आज साँझ केही महहत्वपूर्ण भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ । परराष्ट्र मन्त्रालयले दिएकोे जानकारीअनुसार जेठ १८ गते प्रधानमन्त्री दाहाल र उहाँका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ ।

दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ । हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । उनले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरूपमा आयोजना गर्ने एक अन्तक्र्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्ने र व्यवसायीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।

प्रधानमन्त्री दाहालले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुने कार्यक्रमम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतको मध्यप्रदेशस्थित उज्जैन र इन्दोरको समेत भ्रमण गर्ने कार्यसूची छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ । प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । यसअघि विसं २०६५ मा पहिलोपटक र दोस्रोपटक २०७३ सालमा प्रधानमन्त्री भएपछि उनले भारतको भ्रमण गरेका थिए ।

त्यस्तै ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीका रूपमा दाहालले भारतको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्रीले भ्रमणको तयारीका क्रममा पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, कूटनीतिक तथा सरोकारवालासँग छलफल गरेर राष्ट्रिय सहमति बनाउने प्रयास गर्नुभएको छ । प्रतिनिधिसभामा समेत भ्रमणका बारेमा जानकारी गराएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुने जानकारी दिनुभयो । यस्तै सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति हुनेछ । भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने र नेपालगन्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री रिजालले जानकारी दिए । कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण, जुट निर्यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने उनले जानकारी दिए ।

प्रतिक्रिया