मंगलबार, वैशाख ११, २०८१

संघीय सरकारमा केन्द्रिकृत मानसिकता

नेपालखोज २०८० जेठ १७ गते १६:२९

काठमाडाैं । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले संघीय सरकारमा केन्द्रिकृत मानसिकता देखिएको बताएका छन् ।

गाउँपालिका महासंघ र नगरपालिका संघले संयुक्त विज्ञप्ति जारी गर्दै जेठ १५ गते संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटलाई लिएर सो कुरा बताएका हुन् ।

‘गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघको तथ्य र तथ्यांकले संघीय सरकारको बजेटको आकार चालु आवकै हाराहारीमा हुँदा पनि स्थानीय तहमा पठाइने वित्तीय हस्तान्तरणको आकार घटाइनु, ससर्त अनुदानको आकार बढाएर भारी मात्रामा समानीकरण अनुदान घटाउनु एवं समपूरक र विशेष अनुदानको आकारसमेत घटाउनुले संघीय सरकारमा केन्द्रिकृत मानसिकता कायम रहेको अनुभूति भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संघीय प्रणालीलाई संस्थागत गर्नेतर्फ सरकार गम्भिर भएको देखिएन ।’

संघीय सरकारको विगत ५ वर्षदेखिकै बजेटको विश्लेषण गर्दा पनि वित्तीय हस्तान्तरणको आकार क्रमशः घटाउँदै लगिएको र यसमा पनि समानीकरण अनुदानलाई भारी रूपमा कटौती गरी ससर्त अनुदानलाई बढाउँदै लैजाने प्रवृत्तिले पनि आफूहरूको आशंकालाई मद्दत पुर्याएको उनीहरुको ठहर छ । यस्तै, गाउँपालिका महासंघ र नगरपालिका संघले बजेटमा गरिएका कतिपय प्रबन्धहरु प्रभावकारी र प्रशंसायोग्य रहेको बताए । ‘बजेट कार्यान्वयनमा स्थानीय सरकारको प्रत्यक्ष भूमिका रहेको भनिएका योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न हामी स्थानीय सरकारहरु प्रतिबद्दता व्यक्त गर्दछौं । बजेट कार्यान्वयनमा संघ र प्रदेश सरकारसँग आवश्यकतानुसार सहकार्य र समन्वय गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ ।

साथै बजेटको उद्देश्यमा संघीयताको सबलीकरण र सुशासन कायम गर्ने, वित्तीय संघीयतालाई सबल बनाउन राजस्व बाँडफाँट र वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाइने भनिए पनि बजेट विनियोजन विश्लेषण गर्दा उद्देश्य र प्राथमिकता अनुरुप नभएको ठहर उनीहरूको छ ।

‘संघीय सरकारबाट स्थानीय सरकारलाई प्राप्त हुने वित्तीय हस्तान्तरणमध्ये वित्तीय संघीयताको साँचो अर्थ र मर्म बोक्ने शीर्षक भनेको समानीकरण अनुदान मात्र हो, जुन चालू आवको भन्दा आगामी आवमा १३ प्रतिशतले कमी गराइएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘समपूरक र विशेष अनुदानमा क्रमशः ३ र ५ प्रतिशतले कमी गराइएको छ । तर वित्तीय संघीयताको मर्मविपरीत हुने सशर्त अनुदानको आकार भने ४ प्रतिशतले वृद्धि गरिएको छ ।’ चालू आवमा विनियोजन गरिएको समानीकरण अनुदानको अन्तिम अर्थात् चौथो किस्ता रकममा ५० प्रतिशत मात्र निकासा फुकुवा गर्ने निर्णयले स्थानीय सरकारमा ठूलो दायित्व सिर्जना हुने बताइएको छ ।

एकातिर वित्तीय हस्तान्तरणको आकार घटाउँदै लगिएको तथा अर्कातिर विवादित र पछिल्ला बजेटबाट हटाइसकेको निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई पुनः ब्युँताइएकामा स्थानीय सरकारले विरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । – INS

प्रतिक्रिया