मंगलबार, वैशाख ४, २०८१

जासुसी उपग्रह प्रक्षेपणको निन्दा

नेपालखोज २०८० जेठ १७ गते १७:१५

टोकियो । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्यपि प्योङ्याङको परीक्षण दुर्घटनाका कारण असफल भएको छ ।

जापानले उत्तर कोरियाको उपग्रह प्रक्षेपणको असफल प्रयासबाट संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूको गम्भीर उल्लङ्न भएको उल्लेख गर्दै त्यसको निन्दा गरेको छ ।

‘उत्तर कोरियाको उक्त कदमको जापान विरोध र निन्दा गर्दछ,’ जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भनेका छन् । उत्तरकोरियाली अधिकारीहरूका अनुसार प्योङयाङले टोकियोलाई प्रक्षेपणका सम्बन्धमा जानकारी दिएको थियो ।

जापानका रक्षामन्त्री यासुकाजु हामादाले पत्रकारहरूमाझ भनेका छन्, ‘हामी यस प्रकारको प्रक्षेपणलाई सहन सक्दैनौँ, चाहे त्यो उपग्रह होस् वा अन्य कुनै चिज, यसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई उल्लङ्घन गरेको छ । ‘

संयुक्त राज्य अमेरिकाले प्रक्षेपणको निन्दा गर्दै प्योङयाङलाई तत्काल उत्तेजक कार्य बन्द गर्न आह्वान गरेको छ । राष्ट्रिय सुरक्षा प्रवक्ता एडम होजले प्योङ्याङ र वासिङ्टनबीचको कूटनीति संवाद बन्द नभएको उल्लेख गर्दै उनले आफू र आफ्ना सहयोगीलाई बचाउन अमेरिकाले सबै आवश्यक उपाय अवलम्बन गर्ने बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि कदमको निन्दा गर्दै प्योङ्याङको पछिल्लो प्रक्षेपणको निन्दा गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य भूउपग्रहको विकासलाई आफ्नो देशको प्रतिरक्षाको प्रमुख अङ्गको भएको स्पष्ट गरेका छन् । यसअघि उनका एक जना वरिष्ठ सैन्य अधिकारीले अमेरिका र दक्षिण कोरियाका विवेकहीन सैन्य गतिविधि निगरानी गर्न बाध्य भएर जासुसी उपग्रह प्रक्षेपण गर्नुपरेको बताएका थिए ।

प्रतिक्रिया