मंगलबार, वैशाख ११, २०८१

‘टेलिस्कोप’ बनाउन तालिम

नेपालखोज २०८० जेठ १८ गते १३:१०

काठमाडौं । स्थानीय स्रोतसाधनको प्रयोग गर्दै ‘टेलिस्कोप’ बनाउने तीन दिने कार्यशाला छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनअन्तर्गत अफिस अफ एष्ट्रोनोमी फर नेपाल, इन्टर–युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एन्ड एष्ट्रोफिजिक्स, भारत तथा पञ्चकन्या माध्यमिक विद्यालयको समन्वयमा कार्यशाला सम्पन्न भएको हो ।

इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनका नेपाल र भारतका राष्ट्रिय जनसम्पर्कीय संयोजकको सक्रियता एवं नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजनामा स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग गरेर सो अवसरमा टेलिस्कोप बनाइएको हो ।

कार्यशालाका सहभागीले बनाएको पाँच इन्चको रिफ्लेक्टर टेलिस्कोप नेपालमा पहिलो पटक बनेको आयोजक नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उपत्यकाभित्र एवं बाहिरका सात विद्यालयका विज्ञान शिक्षक एवं विद्यार्थी गरी जम्मा २१ सहभागी कार्यशालामा इन्टर–युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एण्ड एष्ट्रोफिजिक्स, भारतका कार्यक्रम अधिकृत समिर धुर्देले प्रशिक्षण दिएका थिए ।

कार्यशालामा सहभागीले परावर्ती टेलिस्कोप (रिफ्लेक्टिङ टेलिस्कोप) र आवर्ती टेलिस्कोप (रिफ्राक्टिङ टेलिस्कोप) बनाउन प्रशिक्षण लिएका थिए । कार्यशालामा शिक्षकले टेलिस्कोपका बारेमा सैद्धान्तिक अवधारणालाई अभ्यासमा उतार्दै वास्तविक टेलिस्कोप बनाउन सिकेका छन् ।

सहभागीले पिभिसी पाइप, किल्ला, प्लाई तथा अन्य स्थानीय सामग्रीका साथै भारतबाट ल्याइएको लेन्स तथा ऐना प्रयोग गरी पाँच आवर्ती टेलिस्कोप र तीन रावर्ती टेलिस्कोप बनाएका छन् ।

‘यस प्रकारको कार्यशाला शिक्षकका लागि उति नै अपरिहार्य छ, जति विद्यार्थीका लागि आवश्यक छ, कक्षामा सिकाउने शिक्षकलाई पनि प्रयोगात्मक ज्ञानको कमी छ, तीन दिनभित्र उहाँहरुले निकै मेहनत र परिश्रम गरेर टेलिस्कोप बनाउन सिक्नुभएको छ’, इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनको नेपालका लागि अर्का जनसम्पर्क संयोजक तथा नासोका परियोजना संयोजक मनिषा झाले बताईन् ।

प्रतिक्रिया