शुक्रबार, चैत १६, २०८०

चर्चा एउटा अरबियन शाहि बिबाहको

नेपालखोज २०८० जेठ १८ गते १६:४७

काठमाडौं । आज जुन १ का दिन जोर्डनका युवराज हुसेनको साउदी अरेबियाकी महिलासँग बिबाह हुँदैछ र यो विवाहको चर्चा विश्वभर छ । जोर्डनका युवराजको साउदी युवतीसँगको विवाहको तयारी, उत्सव र उनिहरुको जीवनले मध्यपूर्वमा मात्र नभई विश्वभर नै चासो पाएको छ ।

जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाह द्वितीय तथा साउदी वास्तुकार रज्वा अल सैफको विवाह मिति जुन १ भए पनि धेरै अघि देखि नै यो परम्परागत उत्सवको झलक सामाजिक सञ्जालमा आकर्षणको केन्द्र बनेको छ।

गत वर्षको अगस्ट १० मा यो जोडीको इन्गेजमेन्टको औपचारिक घोषणा गरिएको थियो । यो शाही जोडीको विवाहको अबसरमा जोर्डनमा आज आधिकारिक बिदा दिइएको छ भने समारोहमा विश्वभरका सेलिब्रेटीहरू सहभागी हुँदैछन् । त्यसबाहेक जोर्डनको राजधानीमा अरब गायकहरूको नि:शुल्क कन्सर्ट पनि हुनेछ ।

जोर्डनका राजकुमार हुसेनले हालै एक कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा रज्वा अल सैफसँगको आफ्नो चिनजानको कथा अन्य प्रेमकथाभन्दा फरक नभएको र उनीहरुको भेटमा एक साझा साथीको हात रहेको बताएका थिए ।

को हुन् युवराज हुसेन बिन अब्दुल्लाह ?

राजकुमार हुसेनको जन्म २८ जुन १९९४ मा जोर्डनको राजधानी अम्मानमा भएको थियो । उनि राजा अब्दुल्लाह द्वितीय र रानी रान्याका जेठा छोरा हुन । उनका एक भाइ शाहजादा हाशिम र दुई बहिनीहरू इमान र सलमा छन् । प्रिन्स हुसेनले आफ्नो प्रारम्भिक शिक्षा जोर्डनको किंग्स एकेडेमीबाट २०१२ मा पूरा गरेका हुन भने त्यसपछि उनले सन् २०१६ मा अमेरिकाको जर्जटाउन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय इतिहासमा डिग्री हासिल गरे।

राजकुमार हुसेनलाई जुलाई २, २००९ मा युवराज घोषणा गरिएको थियो। पछिल्ला केही वर्षमा राजकुमार हुसेनले बुबासँगै जोर्डनको आन्तरिक तथा बाह्य भ्रमण गरेका छन् । उनी सानैदेखि आफ्ना बुबासँग धेरै सरकारी तथा सैन्य गतिविधिहरूमा संम्लग्न रहदै आएका थिए ।

को हुन् रज्वा अल सैफ ?

प्रसिद्ध लाइफस्टाइल म्यागजिन ‘भोग’ तथा बेलायती समाचार सञ्चारमाध्यमको अरबी संस्करणमा आएको रिपोर्ट अनुसार २८ वर्षीय रज्वा अल सैफका बुबा खालिद अल सैफ एक चर्चित व्यापारी र अल सैफ समूहका प्रमुख हुन्। यो कम्पनी स्वास्थ्य, निर्माण र सुरक्षा क्षेत्रमा परिचित छ ।

रजवाको जन्म २८ अप्रिल १९९४ मा साउदी अरेबियाको राजधानी रियादमा भएको थियो । उनी चार दाजुभाइमध्ये कान्छी हुन्। साउदी अरबमा प्रारम्भिक शिक्षा प्राप्त गरेपछि, उनले न्युयोर्क, संयुक्त राज्य अमेरिकाको सिराक्यूज विश्वविद्यालयको कलेज अफ आर्किटेक्चरबाट स्नातक गरेकि थिइन् ।

रज्वाले लस एन्जलसको फेसन इन्स्टिच्युट अफ डिजाइन एण्ड मर्चेन्डाइजिङबाट भिजुअल कम्युनिकेसनमा डिग्री पनि लिएकी छिन्। उनले लस एन्जलसको आर्किटेक्चर फर्म र पछि रियादको डिजाइन स्टुडियोमा काम गरिन्।

राजकुमार हुसेन जोर्डनका युवराज भएकाले विवाहपछि राजवालाई पनि शाही जिम्मेवारी दिइने बताइएको छ । उनको पहिरन र फेसन सेन्सलाई बेलायतकी राजकुमारी अफ वेल्स केट मिडलटनसँग पनि तुलना गरिन्छ।

कसरी हुँदैछ शाही विवाह ?

जोर्डनका अधिकारीहरूले दिएको जानकारी अनुसार, विवाह समारोह जुन १ मा अम्मानको जाहरान प्यालेसमा हुनेछ। जाहरान प्यालेस १९५० को मध्यमा निर्माण गरिएको थियो र त्यति बेलै देखि शाही विवाहको गन्तव्य भएको छ। शाह अब्दुल्ला द्वितीय र उनका पिता शाह हुसैन बिन तलालको विवाह पनि यही दरबारमा भएको थियो।

विवाह समारोह पछि समारोहमा सरिक सबैजना जाहरान अल हुसेनिया प्यालेसमा पुग्नेछन् जहाँ रिसेप्शन र डिनरको व्यवस्था छ । जोर्डनका मिडियाहरुका अनुसार केही अरब गायकले त्यस दिन अम्मानमा नि:शुल्क कन्सर्ट दिनेछन् भने केही कन्सर्टमा भाग लिन निःशुल्क यातायात सेवा उपलब्ध हुनेछ। यसबाहेक सबै राज्यमा उत्सवको आयोजना गरिनेछ।

आज सबै सरकारी कार्यालयमा बिदा दिइएको छ । जोर्डनको आधिकारिक समाचार एजेन्सी ‘पित्रा’का अनुसार विवाहको एक दिनअघि मे ३१ मा दिउँसो १ बजे पछि सबै मन्त्रालय र विभागको काम बन्द छ ।

जोर्डनको शाही दम्पतीको विवाहमा अरब र अन्तर्राष्ट्रिय जगतका नेताहरू, राष्ट्र प्रमुखहरू र महत्त्वपूर्ण व्यक्तिहरू उपस्थित हुने अपेक्षा गरिएको छ। समारोहमा डेनमार्क र स्वीडेनका शाही परिवारका सदस्यहरू समेत सहभागी हुने अपेक्षा छ।

प्रतिक्रिया