शनिबार, जेठ ५, २०८१

इरानमा सन् २०१५ यताकै सबैभन्दा बढी मृत्युदण्ड

नेपालखोज २०८० जेठ १८ गते १७:३९

पेरिस । इरानले यस वर्ष ३०० भन्दाबढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ । मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो बर्ष मृत्युदण्डको सजायँ पाउनेको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा उच्च एक अधिकारवादी समूहले बिहीबार जनाएको छ ।

नर्वेस्थित इरान मानवअधिकार (आईएचआर) का अनुसार सन् २०२३ मा कम्तीमा ३०७ जनालाई मृत्युदण्ड दिइएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशतले बढी हो ।

मे महिनामा कम्तीमा १४२ जनालाई मृत्युदण्ड दिइएको थियो । यो सन् २०१५ यताकै सबैभन्दा उच्च मासिक आँकडा हो । इस्लामिक गणतन्त्र इरानमा गत महिना हरेक दिन औसतमा चार जनाभन्दा बढीलाई फाँसी दिइएको थियो ।

गत सेप्टेम्बरमा सुरु भएको विरोध प्रदर्शनलाई दबाउन नेतृत्वले कदम चालिरहेका बेला इरानले जनतामा डर पैदा गर्न मृत्युदण्डको दायरा बढाएको अभियानकर्मीले आरोप लगाएका छन् ।

विरोध प्रदर्शनसँग सम्बन्धित मुद्दामा सात जनालाई फाँसी दिइएको छ तर अधिकारकर्मीले विशेष गरी लागूपदार्थ र हत्याको अभियोगको आधारमा, जातीय अल्पसङ्ख्यकलाई असमानरूपमा लक्षित गरिएको र कम जटिल प्रकृतिका मुद्दामा मृत्युदण्डको सङ्ख्या बढेको बताएका छन् ।

प्रतिक्रिया