बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : ऊर्जा व्यापारमा ऐतिहासिक सहमति

नेपालखोज २०८० जेठ १९ गते ५:५८

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल शान्ति अहिंसाका प्रवर्तक महात्मा गान्धीको समाधिस्थल पुग्दै गर्दा आज बिहान हल्का वर्षा भइरहेको थियो । उष्ण मौसम भएको यहाँ हल्का वर्षा भइरहेका कारण गर्मीको अनुभव गर्न परेको छैन । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफ्नै शब्दमा आज साँझ आयोजित कार्यक्रम व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले आफ्नै शब्दमा प्रस्तुत गर्नु भएजस्तै नेपालले लामो समयदेखि माग गर्दै आएका केही महत्वपूर्ण विषयमा यस पटक सहमति भएको छ । बिजुली व्यापारको तीव्र प्रतीक्षामा रहेको नेपालले आफ्नो आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने गरी अनमति पाएको छ ।

उच्च राजनीतिक तहमा सहमति भएपछि केही प्राविधिक विषयमा क्रमशः सहमति बन्दै जान्छ । भारतले आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली नेपालबाट आयात गर्ने भएको छ । यस्तै, माथिल्लो तामाकोशीलगायतका आयोजनाको बिजुुलीसमेत खरिद गर्ने भएको छ । यो आफैँमा महत्वपूर्ण सहमति हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बिजुली व्यापारमा त यो ऐतिहासिक ‘ब्रेक थ्रु’ नै हो । बुधबार भारतको औपचारिक भ्रमणमा आएका प्रधानमन्त्रीले आज उहाँका भारतीय समकक्षीदेखि यहाँका राष्ट्रपति, उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरे ।

साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको नेपाल बिजनेश समिटलाई समेत सम्बोधन गरे । भ्रमणका क्रममा केही ऐतिहासिक र दूरगामी महत्वका विषयमा सहमति र समझदारी भएका छन् । जुन नेपालको समग्र आर्थिक विकास र समृद्धिका लागि कोसे ढुङ्गा सावित हुनेमा कुनै दुविधा नरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।

प्रधानमन्त्रीले आज हैदरावाद हाउसमा आफ्ना समकक्षीका बीचमा गर्नुभएको छलफलपछि विभिन्न सात वटा विषयमा सहमति भएका छन् । त्यसमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास, फुकोट कर्णाली जलविद्युत् आयोजना, रेल्वे लाइनको उद्घाटन, एकीकृत जाँचचौकी, दोधारा चाादनीमा सुक्खा बन्दरगाहको निर्माण, पेट्रोलियम पाइप लाइनकोे निर्माण र तल्लो अरुण जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) छन् ।

यस्तै, नेपालले हवाई मार्गका सम्बन्धमा राखेको विषयमा समेत महत्वपूर्ण सहमति भएको परराष्ट्र मन्त्रालयको भनाइ छ । यस्तै, नेपालको बिजुली ब¬ङ्गलादेश निर्यात गर्ने विषयमा समेत महत्वपूर्ण समझदारी बनेको छ । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहेको र त्यसमा भारतको सहमतिसमेत खोजिरहेको अवस्थामा आजको सहमति त्रिदेशीय विकासका लागि समेत महत्वपूर्ण परिघटना बन्न पुगेको छ । यस्तै, प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीसँग स्पष्ट शब्दमा सीमा समस्या समाधानका लागि आग्रह गरेकबा छन् । नेपाल र भारतका बीचमा सीमा समस्या छन् । ती समस्या समाधानका लागि दुवै प्रधानमन्त्रीको सहमति छ । प्रधानमन्त्री प्रचण्डले हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा नै आफूले आफ्ना भारतीय समकक्षीसँग सीमा समस्या समाधानका लागि अनुरोध गरेको जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि वर्षौंदेखि थाँती रहेका विषय क्रमशः समाधानको दिशामा अग्रसर भएका छन् । दुई देशका बीचमा नयाँ आधारमा सम्बन्धको सुरुआत भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । आज साँझ प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल आइसी मौर्यमा आयोजित कार्यक्रममा भारतका सङ्घीय मन्त्री पियूष गोयलले पनि नेपाल र भारतबीचको सम्बन्ध सीमा, भूराजनीतिले निर्धारण नगर्ने, बरु हामी एकै परिवारका सदस्य भएको बताए । नेपाल र भारतबीचको सम्बन्ध ठूलो दाजु र भाइको जस्तो नभई पारस्परिक विश्वास र सम्मानमा आधारित रहेको बताए । दुई देशा प्रधानमन्त्रीबीच आज भएको छलफलले नयाँ विश्वास र सद्भावको आधार बनाएको उनको भनाइ थियो ।

गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेको छ । सोही प्राथमिकतामध्येको समृद्धिको कार्यसूचीलाई अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले नयाँ आयाम थपेको भन्दै नेपालका उद्योगी व्यवसायीसमेत प्रसन्न भएका छन् । बिजुली व्यापारमा सम्बन्धमा भएको पछिल्लो सहमतिले नेपालमा ऊर्जाको क्षेत्रमा थप लगानी भित्रने उनीहरुको भनाइ छ । महासङ्घका अध्यक्ष ढकालले पनि बिजुली व्यापारका सम्बन्धमा आजको सहमति आफैँमा महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणले चालु आवमा नै बिजुली बिक्री गरेर एउटा तथ्य स्थापित गरिसकेको बताउँदै आजको सहमति पछि थप नयाँ आधार तयार हुने र नेपालको समृद्धिको दिन धेरै टाढा नभएको बताए ।

प्रतिक्रिया