कुमाल बस्तीका बालिकाकालाई आधारभूत शिक्षाको समस्या
भोजपुर । भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ ।
राज्यले स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायतलाई आधारभूत आवश्यकताका रूपमा राखे पनि यहाँका बासिन्दा ती आधारभूत आवश्यकताबाटै बञ्चित हुँदै आएका छन् ।
षडानन्द नगरपालिकाको वडा नं ६ अरुण नदी किनारमा रहेको यो बस्तीका करिब ३५ घरपरिवारलाई आधारभूत सेवा लिन नै समस्या छ । यहाँका स्थानीयलाई शिक्षा र स्वास्थ्यको सेवा लिन अत्यन्तै समस्या छ भने कतिपय परिवारको आफ्नो जमिन छैन ।
नदी किनारको बस्ती भएकाले यहाँका परिवारले कुटो, कोदालो, माटाको भाँडा तथा अरूण नदीमा माछा मारेर जीवनयापन गर्दै आएका छन् । उनीहरूलाई बिहान बेलुकाको छाक टार्नै समस्या हुने गरेको छ ।
गरिबीका कारण कुमाल समुदायका अधिकांश बालबालिका शिक्षाको पहुँच बाहिर रहेको स्थानीय जानकारहरूको भनाइ छ । यहाँ जनचेतना आधारभूत विद्यालयमा कक्षा ३ सम्म अध्ययन हुने भए पनि बालबालिका भने कमैमात्र विद्यालय जाने गरेका छन् ।
यो बस्तीमा रहेको गरिबी तथा भौगोलिक विकटताका कारण बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेको दिङ्लका समाजसेवी प्रकाश पौडेलले जानकारी दिए ।
यो ठाउँका बालबालिकाले आधारभूत शिक्षा लिए पनि उच्च शिक्षा लिनका लागि झनै समस्या रहेको उहाँको भनाइ छ । त्यहाँका बालबालिकालाई सङ्खुवासभाको तुम्लिङटार जानुपर्ने बाध्यता रहेको समाजसेवी पौडेलले जानकारी दि । सङ्खुवासभा जानलाई पनि अरुण नदीमा पुल नहुँदा सास्ती छ ।
‘मोथेटारका बालबालिकालाई शिक्षाको सहज पहुँच छैन’, उनले भने, ‘पहिलो कुरा त यहाँ अशिक्षा र गरिबी छ । केही बालबालिका विद्यालय गए पनि उच्च शिक्षा लिन उनीहरूलाई समस्या छ । उच्च शिक्षा लिन जोखिम मोलेर सङ्खुवासभा जानुपर्ने अवस्था छ ।’
अर्थाभावको समस्यालाई झेल्दै केही बालबालिकाले प्राथामिक शिक्षा हासिल गरे पनि कक्षा ५ माथिको शिक्षा हासिल गर्न धेरै समस्या रहेको सो विद्यालयकी शिक्षिका टीका श्रेष्ठले बताए ।
साना बालबालिकालाई कक्षा ३ पछिको शिक्षा लिन तीन घण्टा बढी समय लगाएर अरुण माध्यमिक विद्यालय तथा सङ्खुवासभा जिल्ला जानुपर्ने बाध्यता रहेकाले धेरै बालबालिकाले विद्यालय छाड्ने गरेको शिक्षिका श्रेष्ठले जानकारी दिए ।
शिक्षिका श्रेष्ठले भने ‘मुख्य समस्या त बालबालिका नै विद्यालय आउन मान्दैनन् । आएर कक्षा ३ पास गरेकालाई अन्य विद्यालय जान समस्या छ । सात–आठ वर्षका बालबालिकालाई तीन–चार घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने अवस्था छ । जसले गर्दा विद्यालय छाड्ने दर बढेको देखिन्छ ।’
उनीहरूलाई सङ्खुवासभाको तुम्लिङटार जान केही नजिक भए पनि अरुण नदीमा पुल नहुँदा जोखिम मोलेर डुङ्गा चढेर नदी पार गरेर विद्यालय जानुपर्ने अवस्था छ । डुङ्गा पनि हिउँदको समयमा मात्र चल्ने र बर्खा लागेपछि बन्द हुन्छ । अरुण नदीमा पुल नहुनु स्थानीयका लागि निकै ठूलो समस्या रहेको शिक्षिका श्रेष्ठको भनाइ छ ।
राज्यले निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनि यस समुदायका बालबालिकामा शिक्षाको पहुँच विस्तार हुन नसकेको देखिन्छ । परिवारका अभिभावक नै अशिक्षित भएका कारण उनीहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन नमान्ने स्थानीयवासी कृष्णबहादुर कुमालले जानकारी दिए । अभिभावकले बालबालिका अलिक ठूला भएपछि आफ्नै पेसामा काम गर्न लगाउने गरेका छन् ।
पैतीस घर कुमाल बस्तीमा करिब ७० जनाको हाराहारीमा विद्यालय समूहका बालबालिका रहे पनि दशभन्दा बढी बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको उनको भनाइ छ । कक्षा ३ पास गरेपछि विद्यालय छाड्ने बालबालिको ङ्ंख्या अझ बढी रहेको स्थानीय कुमालले बताए ।
‘यो ठाउँमा स्वास्थ्य शिक्षा र यातायातको धेरै नै समस्या छ’, स्थानीय कुमालले भने, ‘बस्तीमा स्वास्थ्यचौकी छैन । साधारण स्वास्थ्य सेवा लिन दिङ्ला तथा सङ्खुवासभा जानुपर्ने बाध्यता छ । बालबालिकालाई विद्यालय जान त्यस्तै समस्या छ । अर्थावस्था कमजोर छ ।
समस्याको बीचबाट जीवन गुजारा गर्दै आएका छौँ । हाम्रो मुख्य आयस्रोत भनेको माटाको भाँडा बनाउने पेसा हो । बनेका भाँडालाई सहजरूपमा बजारसम्म लैजाने अवस्था छैन । कतिपयले अब त पेसा पनि छाडिसके ।’
कुमाल समुदायमा शिक्षाको चेतना फैलाउँदै यहाँ सहज आधारभूत पुर्याउनका लागि पहल भइरहेको षडानन्द नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुमन विशुन्केले बताए । खास गरेर स्थानीयमा रहेको अशिक्षाको कारण पनि बालबालिका शिक्षाबाट बञ्चित हुने गरेको उनको भनाइ छ । कतिपय कुमाल समुदायका मानिसले नागरिकतासमेत बनाउन नचाहने वडाध्यक्ष विशुन्केले बताए ।
नागरिकता बनाउन वडाले पहल गर्दासमेत नागरिकताको काम नै छैन भन्दै बनाउन नआएको वडाध्यक्ष विशुन्केले जानकारी दिए । आफ्नै पहलमा सात जनाको नागरिकता बनाइदिएको उनको भनाइ छ ।
कुमाल बस्तीमा रहेको समस्या समाधानमा नगरपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । यहाँका नागरिकलाई आधारभूत आवश्यकताबाट बञ्चित हुन नदिन नगरपालिका लागिपरेको उनको भनाइ छ ।
‘नगरपालिकालाई समृद्ध बनाउने अभियानमा हामी जुटेका छौँ’, उनले भने, ‘अरुण नदीमा पुल नहुँदा हाम्रो उत्तरी क्षेत्र नै पछाडि परेको अवस्था छ । यहाँका प्रत्येक समस्याको समाधानमा नगरपालिकाले काम गरिरहेको छ ।’
गरिबी तथा भौगोलिक विकटता कारण समस्या रहेका मानिसलाई लक्षित गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गर्ने सोच रहेको नगर उपप्रमुख प्रमिला राईले बताए ।
प्रतिक्रिया