बुधबार, वैशाख १२, २०८१

भासिँदै छ कहिल्यै नसुत्ने सहर

नेपालखोज २०८० जेठ १९ गते १२:४०

काठमाडौं । अमेरिकाको आर्थिक राजधानी भनेर चिनिने न्यूयोर्कमा ठडिएका गगनचुम्बी भवनहरूको वजनका कारण सहरमुनिको जमिन भासिन थालेको छ।

तर यस्तो समस्या भोगिरहेको तटीय सहर यो मात्रै चाहिँ होइन। कङ्क्रिटको जङ्गल भेट्न समुद्र सतह समेत बढिरहेका बेला यस्ता सहरहरू बचाउन सकिन्छ?

सन् १८८९ को सेप्टेम्बर २७ मा स्टिलको अस्थिपञ्जरबाट बनेको एक ११ तले भवनलाई कामदारहरूले अन्तिम रूप दिएका थिए। त्यही भवनलाई न्यूयोर्कको पहिलो गगनचुम्बी भवन ठानिन्छ।

लामो समयअघि नै त्यो भवन भत्काइसकिएको छ। ब्रोडवेमा रहेको त्यो भवन निर्माणसँगै न्यूयोर्कमा अग्ला भवनहरूको निर्माण सुरु भयो र त्यो क्रम आजसम्म जारी छ।

कुल ७७७ वर्ग किलोमिटर क्षेत्रमा उभिएको न्यूयोर्क सहरमुनिको जमिन ७६ करोड टन कङ्क्रिट, सिसा र स्टिलले थिचिएको अमेरिकाको जीओलोजिकल सर्भे यूएसजीएसका अनुसन्धाताहरूको आकलन छ ।

यो अनुमानमा भवनभित्र रहेका सामानहरूको वजन समेटिएको छैन। यसमा सहरलाई जोडेको यातायात सञ्जालको वजन र त्यहाँ बस्ने ८५ लाख मानिसको तौल पनि समेटिएको छैन।

सबै वजनको असाधारण प्रभाव यो सहर बनेको जमिनमा परिरहेको छ। यसै महिना प्रकाशित अध्ययन अनुसार यहाँको जमिन हरेक वर्ष १ देखि २ मिलिमिटर भासिइरहेको छ। भासिनुको आंशिक कारण सहरमा बनेका घरहरूको दबाव पनि हो।

समस्या अन्यत्र पनि
यहाँको जमिन मात्रै भासिइरहेको छैन समुद्र सतह पनि बढिरहेको छ। तटीय सहरसँग जोडिएको समुद्रको सतह पनि प्रतिवर्ष ३ देखि ४ मिलिमिटर बढिरहेको छ।

जमिन भासिने र समुद्र सतह बढ्ने दर भयानक नलागे पनि केही वर्षपछि यसले तटीय सहरमा उल्लेख्य समस्या थप्दै जान्छ।

पछिल्लो हिम युगको अन्त्यसँगै हिउँले ढाकिएको ठाउँबाट सहरमा रूपान्तरित भएसँगै न्यूयोर्क भासिँदै गइरहेको छ।

यूएसजीएसका अनुसन्धाता टम पार्सन्सका अनुसार हिउँको पत्रको वजन हटेपछि न्यूयोर्कका कतिपय क्षेत्रमा समुन्द्री तट फैलिए पनि यहाँ बनाइएका ठूलाठूला भवनहरूको तौलका कारण यहाँको जमिन भासिने क्रम खराब हुँदै गएको छ।

यो न्यूयोर्कको मात्रै नभएर विश्वव्यापी समस्या रहेको पार्सन्स बताउँछन्।

उनी मानिसहरू बसाइँसराइ गरेर आउने क्रमका कारण बढ्दो जनसङ्ख्या भएका र त्यससँगै सम्बन्ध रहेको बढ्दो सहरीकरणसँगै बढ्दो समुद्र सतहको सामना गरिरहेका अमेरिका र अन्य सहरहरूमा पनि यस्तो समस्या रहेको बताउँछन्।

तटीय सहरहरू भासिनुका कारण
तटीय सहरहरू भासिँदै जानुमा धेरै कारणहरू हुन सक्छन्। तर मानव सिर्जित पूर्वाधारको वजनले यसमा सबैभन्दा ठूलो भूमिका खेलिरहेको छ। पूर्वाधारको मात्रा निकै ठूलो छ।

सन् २०२० मा मानव निर्मित संरचनाहरूको वजनले जनावर, बोटबिरुवा र मानिसजस्ता प्राकृतिक वस्तुहरूको वजनलाई उछिनेको छ।

करोडौँ मानिसहरू बसोबास गरिरहेका यी सहरहरूलाई समुद्रमा भासिनबाट रोक्न केही गर्न सकिएला त ?

त्यसो त इन्डोनेशियाको राजधानी जाकार्ता विश्वका अन्य सहरहरूभन्दा छिटो भासिँदै गएको छ।

“कतिपय सहरहरू हामीले एक वर्षमै केही सेन्टिमिटरसम्म भासिएको देखिरहेका छौँ,” रोड आइल्यान्ड विश्वविद्यालयस्थित समुद्र विज्ञानका प्राध्यापक स्टिभन डि’होन्ट भन्छन्। यो सहर समुद्र सतह बढ्ने दर भन्दा पनि तीव्र गतिमा भासिँदै गएको छ।

न्यूयोर्कसम्बन्धी अध्ययनका सहलेखक डोन्ट सन् २०२२ मा भू उपग्रह तस्बिरको माध्यमबाट विश्वका ९९ वटा तटीय सहरहरूको भासिने दर अध्ययनमा पनि सहभागी थिए।

‘भासिने क्रम यही दरमा जारी रहने हो भने यी सहरहरूमा आकलन गरिएभन्दा धेरै चाँडो ठूला बाढीका घटनाहरूले चुनौती दिनेछन्,’ त्यही विश्वविद्यालयका अन्य दुई जना सहकर्मीसँग डि’होन्टले लेखेको विवरणमा उल्लेख छ।

दक्षिण पूर्वी एशियामा सबैभन्दा तीव्र
सबैभन्दा तीव्र दरमा जमिन भासिने क्षेत्रमा दक्षिणपूर्वी एशिया उल्लेख गरिएको छ।

जाकार्ताको केही क्षेत्र २ देखि ५ सेन्टिमिटर प्रतिवर्षका दरले भासिँदै गएको छ। इन्डोनेशियाले यो सहरबाट राजधानी हटाएर १२४० किलोमिटर टाढाको अर्को सहरलाई राजधानी बनाउन लागेको छ।

फिलिपिन्सको मनिला, बाङ्गलादेशको चिटागोङ, पाकिस्तानको कराची र चीनको तियान्जिन पनि तीव्र रूपमा भासिँदै गरेका तटीय सहरहरू हुन्।

यी सहरहरूमा पूर्वाधारहरूमा क्षति र बारम्बार बाढी जस्ता समस्या अहिले नै देखा परेका छन्।

तर तटीय क्षेत्रमा नरहेको मेक्सिको सहर पनि आश्चर्यजनक गतिमा वर्षको ५० सेन्टिमिटरसम्मका दरले भासिँदै गएको छ।

स्पेनले आफ्नो उपनिवेश बनाएको समयमा यो सहरको गर्भमा रहेको पानीको तह नष्ट गर्ने प्रयास गरेका कारण यो सहर भासिँदै गएको ठानिन्छ।

अनुसन्धानहरूले यो सहर भासिने क्रम रोकिन अर्को १५० वर्ष लाग्ने देखाएका छन्। त्यस बेलासम्म यो सहर थप ३० मिटरसम्म भासिनसक्ने आकलन भएका छन्।

डि’होन्ट र उनका सहकर्मीहरूको समूहले गरेको अध्ययनको केन्द्रमा चाहिँ तटीय सहरहरू छन्।

उदाहरणका लागि इन्डोनेशियाको सेमाराङको ठूलो क्षेत्र प्रतिवर्ष २ देखि ३ सेन्टिमिटरका दरले भासिँदै गएको छ। अमेरिकाको फ्लोरिडास्थित टाम्पा बे क्षेत्र प्रतिवर्ष ६ मिलिमिटरका दरले भासिँदै गएको छ।

डि’होन्टका सहकर्मी म्याट वेइ कतिपय स्तरको भासिने क्रम प्राकृतिक रूपमा पनि हुने बताउँछन्।

तर जमिनमा दबाब पुग्ने गरी ठूला भवन बनाउने, जमिनमुनिको पानी दोहन गर्ने र तेल र ग्यासको उत्खनन गर्ने जस्ता मानिसका गतिविधिले यसलाई बढवा दिएको उनी बताउँछन्।

उनका अनुसार यस्ता गतिविधिको योगदान स्थान अनुसार फरक फरक हुनसक्छ। तर यो समस्याको समाधान खोजी गर्नु अपरिहार्य भएको उनको मत छ।

बढ्दो समुद्र सतहको असर सतहमा पानी आउनुअघि नै सुरु हुने डि’होन्ट बताउँछन्।

समुद्री आँघीले सहरहरूमा अझै बढी मात्रामा पानी ल्याएर चुनौती थप हुने उनको बुझाइ छ।

भासिने समस्याको समाधान छ?
उनका अनुसार जमिन भासिनुको कारण अनुसार हरेक ठाउँका लागि समाधान फरक फरक हुनसक्छ।

उनका अनुसार सबैभन्दा प्रस्ट समाधान भनेको निर्माण कार्य रोक्नु नै हो। पार्सन्सका अनुसार भवन निर्माणपछि त्यहाँमुनिको जमिन स्थिर हुनका लागि एक देखि दुई वर्षसम्म लाग्छ।

न्यूयोर्क सहरमुनिको अधिकांश भागमा चट्टानी सतह रहे पनि त्यसले निश्चित हदसम्म मात्रै लचकता देखाउन सक्छ। ती चट्टानहरूमा आएको दरार यो सहर भासिनुको कारण हुनसक्ने अनुसन्धाताहरूको ठम्याइ छ।

तर माटोले भरिएको जमिन र जमिनमा भरिएका कृत्रिम सामग्रीका कारण तल्लो म्यानहटन क्षेत्रमा सबैभन्दा धेरै भासिने समस्या आउन सक्ने पार्सन्स र उनका सहकर्मी बताउँछन्।

उनका अनुसार अग्ला भवनहरू चट्टानी सतह भएका ठाउँमा निर्माण गर्दा पनि भासिने क्रम कम हुनसक्छ।

अर्को समाधान भनेको कम्तीमा केही ठाउँहरूमा भूमिगत पानीको दोहन कम गर्ने हो र जमिनको गर्भमा रहेको चट्टानको उत्खनन कम गर्ने हो।

पार्सन्स र उनका सहकर्मीहरू बढ्दो सहरीकरणले जमिनमुनिको पानीको दोहन बढ्ने र जनसङ्ख्याको चाप व्यवस्थापनका लागि निर्माणका गतिविधिहरू पनि बढ्ने बताउँछन्।

सहरमा दिगो पानी व्यवस्थापनको उपाय खोजी गर्न उनीहरूको सुझाव छ।

सबैभन्दा धेरै प्रयोग भएको उपाय भनेको बाढी प्रतिरक्षा संरचना र समुद्र किनारमा पर्खाल बनाउने हो। तर यो काम अधुरो र भद्रगोल छ।

टोक्यो सहरले जमिन भासिने समस्यासँग जुध्न दुईवटा तरिका अपनाएको छ।

एउटा पानी छेक्नका लागि भौतिक संरचनाहरू बनाएको छ र पूर्वसूचना प्रणाली बलियो बनाउँदै मानिसहरूलाई उद्धारका पूर्वाभ्यासहरू पनि गरिरहन्छ।

कतिपय स्थानमा मानिसहरू आफैँ सचेत भएर जोगिने उपाय अपनाएका छन्।

घर बनाउँदा जमिनको भाग माथि उठाउने, घरमा भएका सामान सार्ने र घरहरूबीच पुल बनाउने जस्ता पूर्व तयारीका काम मनिला, जाकार्ता र चि मिन सहरमा भएका छन्।

अरू उपायहरूमा जमिनमुनि ठूला ट्याङ्की बनाउने पनि हो। यसले आँधीसँग आउने पानीलाई नियन्त्रित गर्न सहयोग गर्छ।

समुद्रमा पानीको सतह बढ्दै जाँदा हामीले अझै रचनात्मक समाधानहरू देख्न सक्छौँ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१९ मा समुद्रमाथि तैरिरहेका सहरहरूबारे गोलमेच बैठक आयोजना गरेको थियो।

हरितगृह ग्यास उत्सर्जन कम गरेर जलवायु परिवर्तनको असर रोक्ने पनि अर्को उपाय हो। जसले हिउँ पग्लिएर समुद्री सतह बढ्ने क्रम कम गर्न सहयोग पुग्छ।

‘मलाई लाग्छ कि सरकारहरूले यसबारे चासो दिनुपर्छ,’ डि’होन्ट भन्छन्।

यदि उनीहरू केही दशकमै पूर्वाधार र आर्थिक क्षमतामा ठूलो क्षति बेहोर्नबाट जोगिन चाहन्छन् भने उनीहरूले अहिल्यैबाट योजना बनाउन सुरु गर्नुपर्छ। BBC

प्रतिक्रिया