मंगलबार, वैशाख ११, २०८१

जलवायु सङ्कट : सन् २०२७ सम्ममा विश्वको तापक्रमले १.५ डिग्री सेल्सियसको सीमा नाघ्न सक्छ

नेपालखोज २०८० जेठ २० गते ६:४७

विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले सन् २०२३ देखि २०२७ सम्मको पाँच वर्षमा विश्वको तापक्रम वृद्धि रेकर्ड स्तरमा पुग्ने प्रक्षेपण गरेको छ । यति मात्र होइन डब्लुएमओले जारी गरेको प्रतिवेदनअनुसार यी पाँच वर्षमा विश्वको तापक्रम वृद्धि पूर्वऔद्योगिक अवधिको तुलनामा १.५ डिग्री सेल्सियसको सीमा नाघ्ने सम्भावना ६६ प्रतिशत छ ।

डब्लुएमओले ( WMO ) यसको श्रेय एल निनोको घटना र हरित गृह ग्यासको बढ्दो उत्सर्जनलाई दिएको छ जसका लागि हामी मानव जिम्मेवार छौँ । उल्लेखनीय कुरा के छ भने सन् २०१६ मा विश्वको तापक्रम रेकर्ड स्तरमा पुगेको थियो । त्यस्तै, २०२३ मा पनि एल निनो बन्ने सम्भावना छ । यसै सन्दर्भमा अमेरिकाको नेशनल ओशिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले यस वर्षको मे–जुन–जुलाईको बिचमा अल निनो हुने सम्भावना ८० प्रतिशत रहेकोमा जुन–जुलाई–अगस्टमा ९० प्रतिशतसम्म पुग्ने आशङ्का व्यक्त गरेको छ ।

सामान्यतया एल निनो गठन भएको एक वर्ष पछि विश्वव्यापी तापमानमा वृद्धि रेकर्ड गरिन्छ जसको मतलब २०२४ मा यो वृद्धि देखा पर्न सक्छ । विश्वको तापक्रममा भएको वृद्धिलाई हेर्दा २०२२ मा औद्योगिक युग अघिको तुलनामा १.१५ डिग्री सेल्सियस बढी रेकर्ड गरिएको थियो। अर्थात् लगातार तीन वर्ष चलेको ला निनाले पनि यसमा कुनै राहत दिएको छैन । अर्कातर्फ २०२१ को विश्वको तापक्रम हेर्दा यो सामान्यभन्दा १.११ डिग्री सेल्सियस बढी थियो।

एल निनोका घटनाहरूमा विश्वव्यापी तापमान सामान्य भन्दा चिसो रहन्छ । यसको प्रभाव करिब नौ महिनासम्म रहन्छ। अहिले जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धि सबैभन्दा ठुलो खतरा बनेको छ। जसले मानिसलाई मात्र नभई विश्वका अन्य जीवजन्तुलाई पनि नराम्रोसँग असर गरिरहेको छ । हालै वर्ल्ड इकोनोमिक फोरम (डब्लुईएफ) ले जारी गरेको ‘ग्लोबल रिस्क रिपोर्ट’ ले पनि जलवायु परिवर्तन विश्वका लागि सबैभन्दा ठुलो खतरा भएको स्वीकार गरेको छ ।

बढ्दो तापक्रमका कारण पृथ्वीको अवस्था नाजुक बन्दै गएको छ । यस सम्बन्धमा डब्लुएमओका महासचिव प्रोफेसर पिटरी तालास भन्छन् – आगामी महिनाहरूमा न्यानो एल निनोको सम्भावना छ जसले जलवायुमा मानवले गरेको परिवर्तनसँगै विश्वव्यापी तापक्रमलाई अज्ञात सङ्कट वा अवस्था तर्फ धकेल्नेछ। उनका अनुसार यसले स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी व्यवस्थापन र वातावरणमा दूरगामी प्रभाव पार्नेछ । रिपोर्ट अनुसार आर्कटिकमा बढ्दो तापक्रमले अन्य भागको तुलनामा धेरै तीव्र गतिमा तापक्रम बढिरहेको छ ।

१९९१ देखि २०२० को औसतको तुलनामा अर्को पाँच जाडोमा उत्तरी गोलार्धको तापक्रम विश्वव्यापी औसत तापमान विसङ्गतिको तीन गुणा बढी हुने अपेक्षा गरिएको छ। रिपोर्ट अनुसार सन् २०२३ देखि २०२७ सम्मको पाँच वर्षमा मे र सेप्टेम्बरको बिचमा साहेल, उत्तरी युरोप, अलास्का तथा उत्तरी साइबेरियामा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। त्यसै गरी अमेजन र अस्ट्रेलियाका केही भागहरूमा १९९१ देखि २०२० को औसतको तुलनामा यस अवधिमा सामान्य भन्दा कम वर्षा हुने अनुमान छ।

प्रतिवेदन अनुसार विश्वव्यापी तापक्रममा वृद्धिसँगै हरित गृह ग्यासको बढ्दो उत्सर्जनले महासागरको बढ्दो तापक्रम र अम्लीकरणलाई बढाएको छ । त्यसै गरी बढ्दो उत्सर्जनका कारण समुद्री हिउँ र हिमनदीहरू पग्लिरहेका छन्। यसका साथै समुन्द्रको पानीको सतह बढ्दै गएको र यसले चरम मौसमी घटना पनि निम्त्याउने गरेको छ । यही कारणले गर्दा पेरिस सम्झौता अन्तर्गत विश्वभर हरित गृह ग्यासको बढ्दो उत्सर्जनलाई कम गर्ने सबै देशलाई लक्ष्य निर्धारण गरिएको छ । जसले गर्दा यस शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम वृद्धिलाई दुई डिग्री सेल्सियसमा सीमित गर्न सकिन्छ ।

यति मात्र होइन तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयास भइरहेको छ जसले गर्दा यसको प्रतिकूल असर र सम्भावित क्षतिबाट बच्न सकिन्छ । जलवायु परिवर्तनसम्बन्धी अन्तर सरकारी प्यानल (आईपीसीसी) ले तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसको सीमा नाघ्यो भने जलवायुसम्बन्धी जोखिम अहिलेको भन्दा धेरै बढी हुने बताएको छ । यसका बाबजुद तापक्रम वृद्धि २ डिग्री सेल्सियस वृद्धि भन्दा बढी हुने सम्भावना छ। यो नयाँ रिपोर्ट २२ मे देखि २ जुन २०२३ सम्म भएको विश्व मौसम विज्ञान काँग्रेसको ठिक अघि जारी गरिएको हो ।

यो महाधिवेशनले जलवायु अनुकूलनमा मद्दत गर्न मौसम र जलवायु सेवाहरूलाई कसरी बलियो बनाउने भन्नेबारे छलफल गरेछ। यो काँग्रेसले द्रुत रूपमा बढ्दो चरम मौसमी घटनाहरूबाट जोगाउन सबैका लागि प्रारम्भिक चेतावनी प्रणालीलाई प्राथमिकता दिएको छ। यसका साथै जलवायु न्यूनीकरणका लागि नयाँ हरित गृह ग्यास अनुगमन प्रणालीमा जोड दिएको छ । – एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया