शुक्रबार, वैशाख ७, २०८१

इलाम

सुनील उलक २०८० जेठ २० गते ८:१६

इलाम नामाकरणका पछाडि केही किंवदन्तीहरू प्रचलित छन् । छोरा प्राप्तिका लागि माई पोखरीमा यज्ञ गर्न लगाएका राजालाई झुक्काएर रानीले छोरीका लागि यज्ञ गर्न लगाइ छोरी जन्मिए पछि राजाले मलाई छोरी चाहिन्न अर्थात् “इला मा” भन्दा यही कारणले इलाम रहेको पनि भन्ने गरिन्छ ।

सबैभन्दा विश्वसनीय कारण भने लिम्बु भाषाबाट घुमाउरो बाटो भएको हुँदा इलाम भएकोलाई नै लिन सकिन्छ । लिम्बुवानका समयमा दश राज्य मध्य एक रहेको यस क्षेत्रको सदरमुकाम नागरिगढी रहेको थियो । नागरिगढीबाट पछि सदरमुकाम इलाम डाँडामा सारियो । राज्य एकीकरण पछि पनि सदरमुकाम यही इलाम डाँडा नै रहिरह्यो । इलाम भन्नासाथ हामी त्यहाँ उत्पादन हुने चियालाई सम्झिहाल्छौ ।

इलाममा चिया खेती हुन थालेको १५० वर्ष भन्दा बढी समय भइसकेको छ । बि. सं. १९२० तिर राणा प्रधानमन्त्री जङ्गबहादुरलाई चिनिया सम्राटले उपहारमा पठाइ दिएको चियाको बीउ रोप्ने अन्यौलता भएको समयमा संयोगले आफ्नै ज्वाइँ त्यस बेलाका इलामको बडाहाकिम कर्णेल गजराजसिंह थापा जो काम विशेषले काठमाडौं मै थिए ।

उनले इलाममा लगेर उपयुक्त ठाउँमा रोपेर हेरचाह गर्ने भनेपछि जङ्गबहादुरले सो को प्रबन्ध मिलाइ इलाममा चिया खेतीको शुभारम्भ गराएका हुन् । बि.सं. १९३५ मा इलाममा देश कै पहिलो फ्याक्ट्रीको रूपमा चिया फ्याक्ट्री खुलेको थियो । जो नेपालको पहिलो उद्योग पनि हो । त्यसपछि बल्ल जुद्ध शमशेरको पालामा नेपालमा अन्य उद्योगहरू खुल्न थालेको हो ।

त्यसै गरी २०३९ मा राजा वीरेन्द्रले यसको वरपरको क्षेत्रलाई चिया क्षेत्र घोषणा गरिदिए । इलामलाई पहिले पाँच “अ”को सहर भनिन्थ्यो तर अचेल भने थपिएर आठ “अ”को सहर भएको छ । अलैँची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्य गरी आठ “अ”का लागि यस सहर पूर्वको मुख्य पर्यटकीय सहरका रूपमा रहेको छ ।

हेराैँ, तस्बिरमा इलाम कस्तो देखिन्छ, यहाँको रहनसहन यहाँका स्थानीय बासिन्दा तथा स्थानहरू । चिया र कन्याम बाहेक पनि इलाममा हेर्ने ठाउँ अरू पनि छन् ।

प्रतिक्रिया