बिहीबार, चैत १५, २०८०

कान्ति राजमार्गको समस्या रहेको खण्डबाहेकको निर्माण सकिने

नेपालखोज २०८० जेठ २० गते १०:५९

काठमाडौँ । सङ्घीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा समस्या रहेको खण्डबाहेकको सडक यस वर्ष सम्पन्न हुने भएको छ ।

बर्सेनि पहिरो आउने पाँच किमी खण्डबाहेकको सडक आगामी असारसम्ममा कालोपत्र सकिने गरी काम भइरहेको छ । जम्मा ९० किमी लम्बाइको सो राजमार्गमा यस वर्ष साढे चार किलोमिटर सडक कालोपत्र सकिएको र तीन किमीमा काम भइरहेको कान्ति राजमार्ग योजना कार्यालयले जनाएको छ ।

यो आर्थिक वर्षमा विगतमा काम नभएका (क्रोनिक ठेक्का) को काम भइरहेको योजना प्रमुख सुरेश न्यौपानेले बताउनुभयो । उनका अनुसार यो आवमा अहिलेसम्म साढे चार किमी कालोपत्र (अस्पाल) सकिएको छ । तीन किमी कालोपत्र भइरहेकामा यो आवमा सकिने उनले बताए ।

विभिन्न समस्याका कारण ठेक्का लागेको लामो समयसम्म पनि नसकिएका ठेक्का तीन छन् । उनले भने, ‘गत वर्ष विभिन्न कारणले काम हुन नसकेका क्रोनिक ठेक्काको अहिले काम भइरहेको छ ।’

ललितपुरमा दुई र मकवानपुर एक गरी तीन ठेक्का अवधि सकिएको लामो समय हुँदा पनि अझै सम्पन्न भइसकेका छैनन् । यी ठेक्का सम्पन्न भएपछि समस्या भएको क्षेत्र (पाँच किमी) बाहेक अरु सकिने प्रमुख न्यौपानेले बताए ।

ललितपुरतर्फका सम्पन्न हुन बाँकी ठेक्का बिरुवा एसएल सुनकोशी जेभी र सूर्य वाइवा कन्स्ट्रक्सनका छन् । झण्डै आठ वर्ष पहिले यी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । मकवानपुरमा नागार्जुन सर्वशक्ति कम्पनीले पनि काम सकेको छैन । सो कम्पनीसँग आव २०७४-७५ मा ठेक्का सम्झौता भएको योजनाले जनाएको छ ।

मकवानपुरको चुच्चेखोलामा लामो समयसम्म नागरिकले घर नहटाएकाले काम हुन नसकेको भए पनि अहिले काम भइरहेको प्रमुख न्यौपानेले बताए । सम्पन्न नभएका तीन वटै ठेक्कामा कहिले कोभिडका कारण र कहिले सार्वजनिक खरिद नियमावली संसोधन हुँदा नियमावलीको व्यवस्थाका कारणले काम नहुँदा पनि अवधि थप हुँदै आएको थियो ।

यो आवमा निर्माण कम्पनीले सक्नैपर्ने र यदि नसकिएमा ठेक्का तोडिने गरी तयारी अघि बढाइने उनले बताए । उनका अनुसार अहिले यी कम्पनीले काम गरिरहको छन् । निर्माण सुरु गर्दा ९० किमी लम्बाइ रहेको सो राजमार्गको लम्बाइ अहिले ८६ किमी छ ।

पहिले राजमार्गको सुरु विन्दु हेटौँडाको बुद्धचोक तथा अन्तिम विन्दु पहिले सातदोबाटो भए पनि अहिले रेखाङ्कन परिवर्तन भएर अन्तिम विन्दु नख्खु (चक्रपथ) भएको छ ।

रेखाङ्कन परिवर्तन हुँदा लम्बाइ कम भएको छ । राजमार्गको छ किमी सडक निर्माण डिभिजन सडक कार्यालयले गरिहरहेको छ । योजनाले टीकाभैरवबाट बुद्धचोकसम्म ७९ किमी सडक निर्माण गरिरहेको छ । त्यसमध्ये ५१ किमी सडक ललितपुर र २८ किमी मकवानपुर जिल्लामा पर्छ ।

विसं २०७२/७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ । सरकारले सो सडकलाई पहिलो प्राथमिकताको योजनाका रुपमा राखेसँगै योजना कार्यालयको स्थापना भएको थियो । सरकारले एक दशकयता बर्सेनि राजमार्गका लागि बजेट विनियोजन गर्दै आएको छ ।

अझै पनि विनियोजित बजेट कम रहेको योजनाले बताउँदै आएको छ । निर्माणाधीन सो राजमार्गलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौंसम्मको दुई सय २६ किमी लम्बाइको र हेटौँडाबाट पालुङ हुँदै काठमाडौं आउने एक सय ३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ ।

ट्रयाक खुलेको लामो समय हुँदा पनि सो सडक कालोपत्र हुन सकेको थिएन । झण्डै एक दशक पहिलेदेखि भने स्तरोन्नतिको काम भइरहेको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडा तोकिएपछि राजमार्गले महत्व पाएको छ । ललितपुरको सबैभन्दा विकट क्षेत्रमा पर्ने क्षेत्र नं १ को विकासको आधारका रुपमा पनि यो राजमार्ग रहेको छ । सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहको निर्वाचनमा उम्मेदवारले यो सडकको स्तरोन्नति सबैभन्दा उठाउने मुद्दा बन्दै आएको छ ।

प्रतिक्रिया