बिहीबार, वैशाख १३, २०८१

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह : दुई देशको सहमतिले जगायो आशा

नेपालखोज २०८० जेठ २० गते १९:४४

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा सहमति भएको छ ।

लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारत सहमत भएपछि अब निर्माणको काम अघि बढ्ने भन्दै स्थानीय आशावादी बनेका छन् ।

‘लामो समयदेखि सुक्खा बन्दरगाह चर्चामा मात्रै आइरहेको छ, अहिलेसम्म यसको केही काम अगाडि बढेको छैन’, दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय टीकाराम चन्दले भने, ‘नेपाल र भारतबीच निर्माणको सम्झौता भएपछि अब निर्माण हुन्छ कि भन्ने आशा पलाएको छ ।’ सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले तीन वर्षभित्र बनाउनेछ ।

सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गर्नुभएको थियो । बन्दरगाह निर्माणका लागि विसं २०६४ मै प्रस्ताव गरिएको थियो । प्रस्ताव भएको झन्डै १० वर्षपछि सरकारले निर्माण प्रक्रिया सुरु गरेको हो । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सुक्खा बन्दरगाह तीन वर्षभित्र निर्माण गरिने उल्लेख छ ।

भारतसँग सुक्खा बन्दरगाहका लागि सम्झौता एवं नीति तथा कार्यक्रममा समेटिएपछि यहाँका स्थानीयका साथै निजी क्षेत्रका व्यवसायी खुसी भएका छन् । सम्झौता अनुरुप समयावधिमै काम सम्पन्न गर्ने गरी निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने उनीहरुको भनाइ छ ।

सुक्खा बन्दरगाह निर्माणका लागि सरकारले दोधारा चाँदनीका मायापुरी र गौरीशङ्कर सामुदायिक वनको दुई सय ८० बिघा जमिन छनोट गरेको छ । यी दुई वनले वडा नं १, २ र ३ को भूभाग समेट्छन् । बन्दरगाह निर्माणका लागि हाल वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सम्पन्न भइसकेको छ । महाकाली नदीमा बनेको मोटरेबल पुल, छ लेनको सडक लगायतका पूर्वाधारले बन्दरगाह निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतीय पक्षले दोधारा चाँदनी–१ गडिगोठसम्म बन्दरगाहका लागि पहुँचमार्गको ट्र्याकसमेत खोलेको छ । ट्र्याक खोलिएसँगै अब पहुँचमार्ग कालोपत्रको काम अगाडि बढ्ने छ । यो मार्गले नेपाल र भारतलाई व्यापारिकसँगै यातायात सेवालाई पनि जोड्ने छ । दुई दशकअघिदेखि चर्चामा रहेको बन्दरगाह निर्माणस्थलको गत फागुन १ गते प्रधानमन्त्री प्रचण्डले निरीक्षण गरेका थिए । तीन वर्षमा बन्दरगाह निर्माण गर्ने गरी भारतसँग सम्झौता गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।

दोधारा चाँदनीमा बन्दरगाह निर्माण भए सुदूरपश्चिम क्षेत्र व्यापारिक रूपमा भारतसँग जोडिनेछ । यसका साथै भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुरसम्म पनि सहज पहुँच हुने तथा यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुनेमा स्थानीयको विश्वास छ । rss

प्रतिक्रिया