शुक्रबार, वैशाख ७, २०८१

के जलवायु परिवर्तनको खतरा टार्न सकिन्छ ?

नेपालखोज २०८० जेठ २१ गते ५:३८

मानवीय गतिविधिका कारण विश्वको तापक्रम बढिरहेको छ र जलवायु परिवर्तनले अहिले मानव जीवनका हरेक पक्षलाई खतरामा पारेको छ । यदि यो मुद्दालाई अनचेक छोडियो भने मानव र प्रकृतिले खडेरी, बढ्दो समुद्री स्तर र प्रजातिहरूको सामूहिक विलुप्तताका साथै विनाशकारी गर्मीको लहर अनुभव गर्नेछ। अहिले विश्वसामु ठुलो चुनौती छ तर यसका सम्भावित समाधान पनि छन्।

जलवायु परिवर्तन के हो ? 

जलवायु भनेको कुनै क्षेत्रको धेरै वर्षको औसत मौसम हो। जब यसको अवस्थामा औसत परिवर्तन हुन्छ, यसलाई जलवायु परिवर्तन भनिन्छ। आज हामीले देखिरहेको तीव्र जलवायु परिवर्तन मानिसहरूले आफ्नो घर, कारखाना र यातायातका लागि प्रयोग गरेको तेल, ग्याँस तथा कोइलाका कारणले गर्दा भएको हो। जब यी जीवाश्म इन्धनहरू जल्छन्, तिनले हरित गृह ग्यासहरू छोड्छन्, जुन प्रायः कार्बन डाइअक्साइड ग्यास हुन्। यी ग्यासले ओजन तहलाई क्षति पुर्‍याउँछन् जसले पृथ्वीको सुरक्षा कवचको काम गर्दछ। 

ओजन तहमा भएको प्वालका कारण सूर्यको ताप पृथ्वीमा आवश्यकताभन्दा बढी पुग्छ र यसका कारण पृथ्वीको तापक्रम बढ्छ । यो बढेको तापक्रमको प्रभावले हिमनदीको बरफ छिट्टै पग्लन थाल्छ र समुन्द्रको सतह बढ्छ । विश्व अहिले १९ औँ शताब्दीको तुलनामा लगभग १.१ डिग्री सेल्सियस तातो छ र वायुमण्डलमा सिओ टु (CO2) को मात्रा ५० प्रतिशतले बढेको छ। जलवायु परिवर्तनको नकारात्मक परिणामबाट जोगिज तापक्रम वृद्धिलाई न्यूनीकरण गर्नुपर्ने जलवायु वैज्ञानिकहरू बताउँछन् । सन् २१०० सम्ममा ग्लोबल वार्मिङको स्तर १.५ डिग्री सेल्सियससम्म कायम राख्नुपर्ने उनीहरूको भनाइ छ ।

यदि यस विषयमा छिटो निर्णय गरिएन र यसरी नै चलिरह्यो भने पूरै पृथ्वी २ डिग्री सेल्सियसभन्दा बढी तात्न सक्छ । स्वतन्त्र क्लाइमेट एक्सन ट्र्याकर ग्रुपको २०२१ को प्रतिवेदन अनुसार यो शताब्दीको अन्त्यसम्ममा विश्व २.४ डिग्री सेल्सियस तातो हुन गइरहेको छ ।

यदि केही गरिएन भने भविष्यमा ग्लोबल वार्मिङ ४ डिग्री सेल्सियस भन्दा बढी हुन सक्छ जसले गम्भीर गर्मी निम्त्याउन सक्छ भने लाखौँ मानिसले आफ्नो घरबार गुमाउने छन् । यसबाट समुद्रको सतह बढ्नेछ भने कैयन बोटबिरुवा तथा जनावरहरू लोप हुनेछ। यस्ता प्रजातिहरूमा अपरिवर्तनीय क्षति हुनेछ। -एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया