बिहीबार, वैशाख १३, २०८१

आज देखि ज्याःपुन्ही

नेपालखोज २०८० जेठ २१ गते ५:५८
फायल फोटो

काभ्रे । ‘ज्येष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैन’, स्थानीय बुढापाकाको भनाइमा काभ्रेपलाञ्चोकको पनौती जात्रामा सामेल हुनै पर्ने परम्परागत तथ्य छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल हिले जात्रा मनाउँछन् पनौतीवासी ।

जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिले जात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिन्छ । जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनै पर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयसँग अनुभव पनि रहेको छ ।

यस वर्षको हिले जात्रा आज जेठ २१ गतेदेखि सुरु हुन्छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष औपचारिक पूजा अर्चना मात्रै गरी मनाइएको थियो । किंवदन्तीअनुसार परापूर्व कालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लँदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकार बताउछन् ।

करिब पचास मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुई वटा बाँस तेर्स्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठुलो जात्राका रूपमा लिने गरिएको छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवी–देवताका मठमन्दिरमा पूजा अर्चना गरिन्छ । साथै इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामकासाथ नगर परिक्रमा गराइन्छ ।

जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भाग दौड गराउने र रथ भेटिँदा यौन क्रियाकलापमा रुमलाई एकापसमा जुधाउने काम हुन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ । स्थानीय बृद्धबृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् ।

भाग्ने र पिछा गर्ने कार्यका रूपमा रथ जुधाइन्छ । रथ जुधाइसँगै अबिर जात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बिचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रूपमा लिइएको हो । रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्छन् अनि, थाक्दैनन् पनि ।

इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिले–पहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बिचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर, पछिल्ला केही वर्षदेखि देवतारूपी रथलाई दिउँसो जुधाउने गरिएको छ । जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुन्डा बोकेर कर्माचार्य (आचाजू)हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भनिन्छ ।

कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठुलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ । अर्को रोचक प्रसङ्ग, जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने पनि जनविश्वास छ ।

जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारकासाथ भोज गरिन्छ । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको बताइन्छ । जात्रा अवधिभर स्थानीय फोटो पत्रकारले काभ्रेपलाञ्चोकको सम्पदा, प्रकृति, संस्कृति तथा पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी गर्ने गर्छन् ।

स्थानीय मुख्य पर्व जनाउँदै पनौती हिले जात्राको अन्तिम दिन नगरपालिका कार्यालयले नगरमा सार्वजनिक बिदासमेत दिने गरेको छ । किंवदन्तीअनुसार राजा प्रताप मल्लले विसं १२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणी घाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ ।

तीन नदीको सङ्गम स्थल त्रिवेणी घाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्तरूपमा बहिरहेको मान्यता रहेको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्त रूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्मावती मानिँदै आइएको हो ।

प्रतिक्रिया