बिहीबार, वैशाख १३, २०८१

जलवायु परिवर्तनको जोखिम सम्बोधन गर्न सहकार्य आवश्यक

नेपालखोज २०८० जेठ २१ गते २२:२९

काठमाडौं । ग्रामीण समुदायको शिक्षामा जलवायु परिवर्तनको असरका मुद्दालाई सम्बोधन गराउन तीनै तहका सरकार र सबै नागरिकले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

काठमाडौं विश्वविद्यालयको ‘स्कुल अफ एजुकेसन, डेभलपमेन्ट अफ एजुकेसन’ ले आज आयोजना गरेको ‘ग्रिन स्कुल : एजुकेशन फर अ सस्टेनेबल प्लानेट’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी जनप्रतिनिधि, सरकारी अधिकारी, शिक्षाविज्ञ, राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिले जलवायु परिवर्तनले ग्रामीण समुदायका मानिसका जीवनका सबै आयाममा तिव्रतर, अनपेक्षित एवं दूरगामी असर पार्ने भएकाले जलवायु अनुकूलनका अशल अभ्यासका आधारमा जनचेतना फैलाउन आग्रह गरिएको हो ।

वक्ताहरुले दिगो विकासका लक्ष्यहरु हासिल गर्न दक्षिण एसियाली क्षेत्रमा हरित विद्यालय अवधारणमा भएका कार्यको प्रवर्द्धन र सहकार्यमा जोड दिँदै नीतिगतका साथै व्यावहारिक हस्तक्षेप गर्न सुझाएका थिए । कार्यक्रममा ललितपुरमा महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले हरेक नागरिकले धर्ती मेरो मात्र होइन र मान्छेको मात्र होइन भन्ने कुरालाई आत्मसात् गरेर भावी पुस्ताका लागि हस्तान्तरण गर्नुपर्छ भन्ने सोच्न सकेमा जलवायु परिवर्तनका जोखिम न्यूनीकरणमा साझा दायित्वको प्रत्याभूति हुने बताए ।

उनले आफ्फ्नो महानगरपालिकाले बिरुवा अध्ययन गर्ने सल्लाहकारसमेत राखेर हरित पालिका बनाउने कोसिस गरेको सुनाए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले सरकारले एक विद्यालय : एक बगैँचालाई कार्यक्रम र अभियानका रुपमा सञ्चालन गरिरहेको जानकारी गराए ।

काठमाडौँ विश्वविद्यालयका ‘स्कुल अफु एजुकेसन’ का डीन डा. बालचन्द्र लुइँटेलले सामाजिक रुपान्तरणका लागि शिक्षा भन्ने ध्येयका साथ आफूहरुले विद्यालयका बगैँचालाई कक्षा कोठासँग जोड्ने विधिहरुमा बढी ध्यान दिँदै आएको जानकारी दिए ।

कार्यक्रममा भारत, पाकिस्तान, बङ्गलादेशलगायतका मुलुकका विभिन्न विश्वविद्यालयका प्रतिनिधिले सम्बन्धित मुलुकमा जलवायु परिवर्तनको असर न्यूनीकरण र हरित विद्यालयका लागि भएका अभ्यासबारे भर्चुअल माध्यमबाट प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया